ब्युटी न्युज नेपाल
काठमाडौँ, ४ मंसिर
एक समय भाइरल गायक अशोक दर्जी पछिल्लो समय चलचित्रमा व्यस्त छन्। यसै क्रममा उनी नयाँ चलचित्र ‘सेतो कोट’मा मुख्य भूमिकामा देखिँदै छन्। दर्शकवृन्द, रमाइलो प्रसङ्ग के छ भने यस चलचित्रमा अशोक दर्जीलाई अभिनेत्री पूजा शर्माको नायकका रूपमा देख्न पाइने भएको छ। अशोक दर्जी र पूजा शर्मा कसरी यो चलचित्रमा जोडीका रूपमा प्रस्तुत हुँदैछन् ? त्यसका लागि भने तपाईंहरूले चलचित्र ‘सेतो कोट’ नै हेर्नुपर्नेछ। यो चलचित्र आगामी नयाँ वर्षको आसपासमा प्रदर्शनमा आउने तयारीमा छ ।
मिनु शर्मा प्रोडक्सनको प्रस्तुतिमा बन्ने चलचित्रको लेखन तथा निर्देशन शिवम अधिकारीले गर्दैछन्। चलचित्रको कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा पूजाआजापछि एक समारोहबीच शुभमुहूर्त गरिएको छ। शुभमुहूर्तमा कलाकार अशोक दर्जी र पूजा शर्माले संवाद बोल्दै मुहूर्त सट दिएका थिए। उक्त दृश्यमा वरिष्ठ कलाकार नीर शाहले निर्देशन गरेका थिए भने निर्देशक शोभित बस्नेतले क्ल्याप गरेका थिए। क्यामेराको जिम्मेवारी पत्रकार सरिता भारतीले सम्हालेकी थिइन्। त्यस्तै, चर्चित कलाकार सुशान्तकुमार श्रेष्ठले नरिवल फुटाएर चलचित्रको शुभारम्भ गरेका थिए।
निर्माता मिनु शर्माले यो आफ्नो दोस्रो चलचित्र भएको बताउँदै पहिलो चलचित्र सफल भए पनि आफूले अपेक्षित सफलता हासिल गर्न नसकेको सुनाइन्। ‘पहिलो चलचित्र सफल त भयो, तर म जहाँको त्यहीँ रहेँ। यस चलचित्रबाट भने आफू पनि सफल हुने अपेक्षा गरेकी छु,’ उनले भनिन्।
यसै चलचित्रमार्फत अभिनयमा डेब्यु गर्न लागेकी ‘माइली बुहारी’ नामले परिचित सुमित्रा दाहालले आफूलाई हँसाउनभन्दा रुवाउन सहज हुने बताइन्। निर्मातासँगको कुराकानीपछि आफू चलचित्रमा जोडिएको उनको भनाइ थियो।
वरिष्ठ कलाकार नीर शाहले ‘सेतो कोट’को नाम र विषयवस्तुलाई प्रतीकात्मक रूपमा व्याख्या गर्दै समाजमा सेतो रङको अभाव भइरहेको अवस्थामा चलचित्रले सेतोपन जोगाउने अपेक्षा व्यक्त गरे। गायक अशोक दर्जीले यस टिमसँग काम गर्न आफू उत्साहित रहेको बताए। अभिनेत्री पूजा शर्माले भने चलचित्रको कथाबारे अहिले नै खुलाउन नमिल्ने बताइन्। आफूले कथा खोल्न सक्ने भन्दै उनले यसबारे धेरै प्रश्न नगर्न आग्रह गरिन्। यता, निर्देशक शिवम अधिकारीले निर्देशनका लागि पर्याप्त समय दिनुपर्ने भएकाले यसपटक आफूले समय छुट्याएर चलचित्र निर्देशन गर्न लागेको बताए। उनी पछिल्लो समय चलचित्रको पटकथा लेखनमा व्यस्त थिए।
निर्माण पक्षका अनुसार चलचित्रमा मौलिकता, सामाजिक यथार्थ र भावनात्मक गहिराइलाई विशेष महत्त्व दिइएको छ। नेपाली चलचित्रमा कमै उठान गरिने विषयलाई मनोरञ्जनात्मक तथा प्रभावशाली सिनेम्याटिक शैलीमा प्रस्तुत गर्ने लक्ष्य राखिएको छ। कथाको मूल भाव र घटनाक्रमलाई रहस्यपूर्ण राख्दै दर्शकलाई सोच्न, महसुस गर्न र समाजलाई नयाँ दृष्टिले हेर्न प्रेरित गर्ने निर्माण पक्षको विश्वास छ।
मिनु शर्मा प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता मिनु शर्मा ‘सपना’ र सन्देश थापा ‘काजी’ हुन् भने कार्यकारी निर्माता फणीन्द्र तामाङ रहेका छन्।
चलचित्रमा नीर शाह, अशोक दर्जी, पूजा शर्मा र सुमित्रा दाहालसँगै पवन खतिवडा ‘बाबा’, विष्णु सापकोटा ‘हर्के हवलदार’, सुशान्तकुमार श्रेष्ठ, साम्राज्ञी थापा, सम्मान थापा, रामेश्वर रिजाल, दीपेन्द्र भण्डारी, कपिल खड्का, कृषा घिमिरे र सुप्रिया शर्मालगायतका कलाकारको अभिनय रहनेछ।
चलचित्रको छायांकन काठमाडौँ, मकवानपुरलगायत नेपालका विभिन्न ग्रामीण क्षेत्रमा गरिनेछ। यसको छायांकन सौरभ लामाले गर्नेछन् भने सम्पादनको जिम्मेवारी बन्दे प्रसादले सम्हाल्नेछन्। चलचित्रमा संगीत स्टिभ शंकरले तयार गर्नेछन्।
त्यस्तै, चलचित्रको हेड अफ प्रोडक्सनमा अरुण रेग्मी, मुख्य सहायक निर्देशकमा नवराज शर्मा, बजार व्यवस्थापनमा भावेश ढकाल, प्रचार सामग्रीमा सञ्जीव खड्की, कला निर्देशनमा डुक्राज तथा सहनिर्देशनमा दीप्त प्रकाश अधिकारी र एलियास मलिक रहेका छन्।







