कोरिया–नेपालको अन्तर्राष्ट्रिय फिल्ममा अरुण क्षेत्री मुख्य भूमिकामा


ब्युटी न्युज नेपाल
काठमाडौँ, ३ मंसिर

नेपाली अभिनेता अरुण क्षेत्री अन्तर्राष्ट्रिय चलचित्रमा मुख्य भूमिकामा देखिने भएका छन्। नेपाल र दक्षिण कोरियाका चलचित्रकर्मीको संयुक्त लगानी तथा सहकार्यमा निर्माण हुन लागेको फिचर फिल्म ‘ग्रान्ड एभरेस्ट आश्रम’मा उनी पुरुष मुख्य कलाकारका रूपमा अनुबन्धित भएका हुन्।

बोकल्ट फिल्म्स र काठमाडौँ फिल्म्सको संयुक्त सहकार्यमा निर्माण हुने यस चलचित्रलाई दक्षिण कोरियाली निर्माता, निर्देशक तथा लेखक बोइम ह्वाङले निर्देशन गर्नेछिन्। काठमाडौँ फिल्म्सका संस्थापक चन्दन झा नेपाली सहनिर्माताका रूपमा यस परियोजनामा जोडिएका छन्।

रोमान्टिक कमेडी र अलौकिक कथावस्तुको संयोजन रहने चलचित्रमा के–ड्रामाको स्वादसमेत अनुभव गर्न पाइने निर्माण पक्षले जनाएको छ। पूर्वकोरियाली के–पप स्टार र एक युवा नेपाली गुरु तथा होटल सञ्चालकबीच विकसित हुने अनपेक्षित प्रेम सम्बन्धलाई चलचित्रको मुख्य कथावस्तु बनाइएको छ। प्रेम, हास्य र रहस्यको माध्यमबाट आधुनिक सेलिब्रेटी संस्कृति तथा नेपालको आध्यात्मिक परिवेशबीचको सम्बन्धलाई पर्दामा उतारिनेछ।

चलचित्रमा अरुणले नेपाली पुरुष पात्रको भूमिका निर्वाह गर्नेछन् भने महिला मुख्य भूमिकामा दक्षिण कोरियाली अभिनेत्री रहनेछिन्। उनको नाम भने पछि सार्वजनिक गरिने निर्देशक ह्वाङले बताएकी छन्।

चलचित्रको निर्माण तथा प्राविधिक टोलीमा निर्देशक ह्वाङसँगै सहनिर्माता चन्दन झा, छायाङ्कन निर्देशक नरेन्द्र मैनाली, लाइन प्रोड्युसर प्रकाश हमाल र क्रिएटिभ डाइरेक्टर, कास्टिङ डाइरेक्टर, भाषा तथा अभिनय प्रशिक्षक एवं क्यारेक्टर डाइरेक्टरका रूपमा उत्पल झा रहेका छन्। हिमाल र पदयात्राका परम्परागत दृश्यभन्दा फरक शैलीमा नेपालको आध्यात्मिक र सांस्कृतिक पक्षलाई प्रस्तुत गर्ने लक्ष्य चलचित्रले राखेको छ। प्रेम, पहिचान तथा बाहिरी देखावट र वास्तविकताबीचको भिन्नतालाई अलौकिक प्रेमकथामार्फत प्रस्तुत गरिने निर्देशक ह्वाङले बताएकी छन्।

नेपालप्रतिको आफ्नो आत्मीयता व्यक्त गर्दै निर्देशक ह्वाङले विगतका वर्षहरूमा पटक–पटक नेपाल भ्रमण गर्ने क्रममा यहाँको प्राकृतिक आकर्षण, अनौठोपन र नेपाली जनजीवनसँग गहिरो सम्बन्ध स्थापित भएको बताएकी छन्। नेपालको आध्यात्मिक वातावरणलाई आफ्नै सिनेम्याटिक दृष्टिकोणबाट पर्दामा उतार्ने चाहनाले यो चलचित्र निर्माण गर्न प्रेरित गरेको उनको भनाइ छ।

सहनिर्माता चन्दन झाका अनुसार चलचित्रलाई विश्वव्यापी सिनेमा प्रदर्शन तथा अन्तर्राष्ट्रिय फिल्म महोत्सवलाई लक्षित गरेर निर्माण गरिनेछ। नेपाल, दक्षिण कोरिया, उत्तर अमेरिका र युरोपका दर्शकलाई प्राथमिकतामा राखिएको चलचित्रलाई पछि विभिन्न स्ट्रिमिङ प्लेटफर्ममार्फत समेत प्रदर्शन गर्ने योजना छ। चलचित्रको छायाङ्कन सन् २०२७ फेब्रुअरीदेखि मार्चसम्म नेपालमा गर्ने प्रारम्भिक तयारी छ। दक्षिण कोरियाली महिला मुख्य कलाकार, सहायक कलाकार तथा निर्माण टोलीका अन्य सदस्यको विवरण पनि केही समयपछि सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ।