ब्युटी न्युज नेपाल
काठमाडौँ, ३० कात्तिक
चलचित्र विकास बोर्डले बक्स अफिस रिपोर्ट अन्तरर्गत चलचित्र घरमा प्रदर्शन भईरहेको नेपाली चलचित्रहरुको २९ कात्तिक आइतबार रातीसम्मको ब्यापार परिणाम आज सार्वजनिक गरेको छ । सो रिपोर्टमा गत साता रिलिज भएको नेपाली चलचित्र ‘पाँच पाण्डव’ बक्स अफिसमा हदै कमजोर देखिएको छ । यस्तै दशैँमा रिलिज भएको नेपाली चलचित्र ‘कबड्डी ५’को ब्यापार पनि चौथो सातामा आईपुग्दा खस्किएको देखिन्छ ।
चलचित्र विकास बोर्डले आज सार्वजनिक गरेको बक्स अफिस रिपोर्ट होर्दा चलचित्र ‘पाँच पाण्डब’को व्यापार रिलिज भएको १० दिनको कमाइ ४५ लाख रुपैयाँ पनि पुग्न सकेको छैन । करिब ४ करोडमा बनेको भनिएको यो चलचित्र भारतीय सिनेमा रामायणको चेपुवामा परेको छ । जसका कारण पाँच पाण्डबले आइतबारसम्म १२ हजार २९४ वटा टिकट बिक्री गर्दै स्वदेशमा ४३ लाख ५० हजार ४८३ रुपैयाँको व्यापार गरेको छ । चलचित्र निर्माणको लागतको अनुपातमा यो ब्यापार निकै कमजोर हो । यो चलचित्रमा हरिबँश आचार्य, आर्यन सिग्देल, जितु नेपाल, इभा गिरी, दीपाश्री निरौला, महेश त्रिपाठी जस्ता कलाकार भएर पनि यसको व्यापार राम्रो हुन सकेन ।

यस्तै ६ कात्तिकमा रिलिज भएको नेपाली चलचित्र ‘कबड्डी ५’को व्यापार यो चौथ हप्तामा कमजोर देखिएको छ । पछिल्लो समय रिलिज भएको रामायण र बाटुलो जुनले यसको व्यापार प्रभावित पारेको हो । तथापि आईतबारसम्म यो चलचित्रले करिब १३ करोडको व्यापार गरेको छ । बक्स अफिस रिपोर्ट अनुसार आइतबार बेलुकासम्म कबड्डी ५ले १२ करोड ९४ लाख १५ हजार ४३७ रुपैयाँको ग्रस कमाएको छ । सोही अवधिसम्म फिल्मका ४ लाख २२ हजार ८८० वटा टिकट बिक्री भएका छन् । तथापि अहिलेसम्मको रिपोर्ट हेर्दा गौँथलीपछि कबड्डी ५ यो यस वर्ष सर्वाधिक कमाउने चलचित्रको सूचीमा दोस्रो स्थानमा रहेको छ ।
यतिबेला प्रदर्शन भईरहेका चलचित्रहरुमा ‘कबड्डी ५’पछि दोस्रो ठूलो व्यापार चलचित्र ‘पेन्सन पट्टा’ बनेको छ । यसले आइतबार (हिजो)सम्म १० करोड ३५ लाख ७८ हजार ४७८ रुपैयाँ ग्रस कमाइ गर्दै ३ लाख ६४ हजार ५२० वटा टिकट बिक्री गरेको छ । रोचक कुरा के छ भने ‘कबड्डी ५’ र ‘पेन्सन पट्टा’ दुवैमा दयाहाङ राई मुख्य भूमिकामा छन् । यस वर्ष कुनै अभिनेताको फिल्मले लगातार १० करोडमाथिको व्यापार गरेको यो पहिलो हो ।

दसैंमा प्रदर्शन भएका तीन फिल्ममा भने ‘आ बाट आमा २’ले सर्वाधिक कमाइ गरेको छ । यसले २ लाख ४१ हजार ९६ वटा टिकट बिक्री गर्दै ६ करोड ९१ लाख ३७ हजार ३१२ रुपैयाँ ग्रस कमाएको छ । दोस्रो स्थानमा ३ करोड ४३ लाख १७ हजार ४५ रुपैयाँ ग्रससहित ‘छ माया छपक्कै २’ छ भने तेस्रोमा २ करोड ३२ लाख ९६ हजार ३७१ रुपैयाँ ग्रससहित ‘१२ गाउँ २’ छ ।









