‘सिन्दुरे जात्रा’को फर्स्ट लुकमा रोइरहेका विजय र अञ्जना


ब्युटी न्युज नेपाल
काठमाडौँ, २० कात्तिक

चलचित्र ‘सिन्दुरे जात्रा’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार विजय बराल र अञ्जना बराइलीलाई भावुक मुद्रामा प्रस्तुत गरिएको छ। पोस्टरमा विजयको छातीमा टाँसिएकी अञ्जना रोइरहेको देखिन्छिन् भने विजयका आँखामा पनि आँसु भरिएका छन्।

गाउँले परिवेश र जात्राको पृष्ठभूमिमा तयार पारिएको पोस्टरले चलचित्रको कथावस्तु र भावनात्मक पक्षप्रति दर्शकको चासो बढाउने देखिन्छ। पोस्टरमा मन्दिर र जात्रामा सहभागी मानिसहरूको भीडसमेत देख्न सकिन्छ। परम्परागत नेपाली पहिरनमा सजिएका विजय र अञ्जनाको प्रस्तुतिले ग्रामीण परिवेशको झल्को दिएको छ।

अञ्जनालाई बुलाकी, नौगेडी र माडवारीसहित परम्परागत पहिरनमा देखाइएको छ। उनको अस्तव्यस्त कपाल र भावुक अनुहारले कुनै अप्रिय घटना वा संघर्षको संकेत गरेको छ। त्यस्तै, चलचित्रको शीर्षकसँग मेल खाने रङ संयोजनले पनि पोस्टरमा जात्रा र भावनात्मक कथाको झल्को दिएको छ।

 

सरोज पौडेलको निर्देशनमा निर्माण भएको चलचित्रमा विजय बराल र अञ्जना बराइली मुख्य भूमिकामा छन्। नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’बाट दर्शकमाझ लोकप्रिय बनेको यो जोडीको ‘सिन्दुरे जात्रा’ दोस्रो सहकार्य हो। ‘पूर्णबहादुरको सारङ्गी’ नेपाली चलचित्र इतिहासकै सर्वाधिक सफल चलचित्रमध्ये एक हो।

चलचित्रमा विजय र अञ्जनासँगै विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोला राज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय रहेको छ।

सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्रको कथा निर्देशक पौडेल स्वयंले तयार पारेका हुन्।

सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता नेम महर्जन हुन्। सहनिर्मातामा राकेश खड्का र श्याम मगर तथा एसोसिएट निर्मातामा सुमन रञ्जित र लाइन निर्माताका रूपमा अनिश अधिकारी रहेका छन्। दिनेश खड्का कार्यकारी निर्माता रहेको चलचित्रमा पदमबहादुर श्रेष्ठ (बाबु) ले छायाङ्कन, सुरेन्द्र पौडेलले सम्पादन र विशाल घिमिरेले क्रिएटिभ निर्देशन गरेका छन्। चलचित्रमा प्रशान्त सिवाकोटी, रिदम कँडेल र नन्दु परियारको संगीत रहनेछ।

आगामी मंसिर १८ गतेदेखि प्रदर्शनमा आउने चलचित्रको वितरण जिम्मेवारी नेसनल सिने ग्रुप नेपालले सम्हालेको छ। बिग मुभिज थिएटर पार्टनर र ओएसआर डिजिटल डिजिटल पार्टनरका रूपमा रहेका छन्।