उन्नती बोहराको २५ गीतमा गुञ्जियो सङ्गीत, शम्भुजीत अभिनन्दित, डब्बु क्षत्री सम्मानित


ब्युटी न्युज नेपाल
काठमाडौँ, १८ कात्तिक

६ दशक लामो साहित्यिक यात्रा र साढे पाँच दशकभन्दा बढीको गीत लेखन साधनालाई सङ्गीतमय उत्सवका रूपमा मनाउँदै प्रतिष्ठित गीतकार तथा साहित्यकार प्राज्ञ उन्नती बोहरा ‘शीला’को एकल सङ्गीत साँझ सम्पन्न भएको छ। उनका चर्चित २५ गीतलाई नेपाली सङ्गीत क्षेत्रका ख्यातिप्राप्त गायकगायिकाले प्रत्यक्ष वाद्यवादनसहित प्रस्तुत गरेको कार्यक्रममा सङ्गीतकार शम्भूजीत बासकोटालाई एक लाख ५१ हजार रुपैयाँसहित अभिनन्दन गरिएको छ। सोही अवसरमा पत्रकार, गीतकार तथा चलचित्रकर्मी डब्बु क्षत्रीसहित विभिन्न क्षेत्रका व्यक्तित्वहरू सम्मानित भएका छन्।

‘फर्की आऊ शान्ति तिमी : उन्नती शीला सङ्गीत समर्पण साँझ–२०८३’ नाम दिइएको उक्त कार्यक्रम उन्नती बोहरा शीला गीत पुरस्कार मञ्चको आयोजनामा कात्तिक १५ गते आइतबार राजधानीको नेपाल पुलिस क्लबमा सम्पन्न भएको हो। मुन्धुम संस्कृतिविद् तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सङ्गीतरत्न शम्भूजीत बासकोटालाई नगद एक लाख ५१ हजार रुपैयाँसहित अभिनन्दन गरिएको थियो।

कार्यक्रममा गायिका तथा सङ्गीतकार मीरा राणा, साहित्यकार उषा शेरचन, चलचित्र सम्पादक नरेन्द्र खड्का, वरिष्ठ गायक कर्णदास र कलापत्रकार राजाराम फुयाँल सम्मानित भए। त्यसैगरी पत्रकार, गीतकार तथा चलचित्रकर्मी डब्बु क्षत्रीलाई पनि सम्मान गरिएको थियो।

सङ्गीतकार तथा संयोजक मनोहर सुनाम, अमूल कार्की ढली, फोटोग्राफर मनोज शाही र नृत्याङ्गना प्रितिशा केसीलाई जनही २१ हजार रुपैयाँसहित सम्मान प्रदान गरियो।

गीतकार शीलाको ६० वर्षे साहित्यिक साधना र ५४ वर्षभन्दा लामो गीत लेखन यात्राको स्मरणमा आयोजित यस विशेष साँझमा उनले आफ्ना सिर्जनामार्फत जीवनका विभिन्न भाव, प्रेम, प्रकृति, देशभक्ति र सामाजिक संवेदनालाई प्रस्तुत गरिन्। कार्यक्रममा उनले आफ्ना श्रीमान् दीपक बोहरा र छोरी चाँदनी बोहराप्रति समर्पित गर्दै २५ वटा गीत प्रस्तुत गरिएको बताइन्। गीतसिर्जना र साहित्यमा नै आफ्नो जीवन समर्पण गरेको उल्लेख गर्दै उनले उपस्थित दर्शक तथा अतिथिप्रति आभार व्यक्त गरिन्।

कार्यक्रममा ‘जननी जन्मभूमिश्च’, ‘कहिँ कतै लडखडाए भने’, ‘फर्काइदेऊ मेरा प्रेमपत्रहरू’, ‘बाँध बाँध मलाई मायाले बाँध’, ‘त्यो दिन याद गर’, ‘भूल भयो मबाट’, ‘फर्की आऊ शान्ति तिमी’, ‘सिमलको फूल सरी’, ‘बदनाम हुन देऊ’, ‘सेती खोलासँगसँगै तरौँला’, ‘गुराँसको रङ रातो’ लगायत उनका चर्चित गीत प्रस्तुत गरिएका थिए।

ती गीतमा प्रमोद खरेल, बानिका प्रधान, माण्डवी त्रिपाठी, प्रविन बेडवाल, जगदीश समाल, कर्णदास, प्रशान्त शाक्य, आनन्द कार्की, सङ्गीता राना प्रधान, निशा देशार, सञ्जय तुम्रुक, विश्व नेपाली, टीका प्रसाईं, सरिता शाही र सुरेश लामालगायत गायकगायिकाले स्वर दिएका थिए। गीतहरूमा शम्भूजीत बासकोटा र दीपक जङ्गमले सङ्गीत भरेका छन्। वरिष्ठ सङ्गीतकार मनोहर सुनामले २१ जना वाद्यवादकसहितको समूहको नेतृत्व गरेका थिए।

यस कार्यक्रमको विशेष पक्ष नै यसको नामकरण थियो। गीतकार शीलाकै रचनामा तयार भएको लोकप्रिय देशभक्तिपूर्ण गीत ‘फर्की आऊ शान्ति तिमी’लाई कार्यक्रमको शीर्षक बनाइएको थियो। कर्णदासको स्वर र शम्भूजीत बासकोटाको सङ्गीत रहेको यो गीत नेपाली सङ्गीत क्षेत्रमा चर्चित सिर्जनाका रूपमा स्थापित छ। आफ्नै लोकप्रिय गीतको शीर्षकमा जीवनभरको सङ्गीत साधना समर्पण गर्नु गीतकारका लागि विशेष उपलब्धिका रूपमा हेरिएको छ।

कार्यक्रममा वरिष्ठ सङ्गीतकार दीपक जङ्गम, गीतकार राजेन्द्र थापा, श्रीपुरुष ढकाल, अभिनेता निर शाह, अभिनेत्री बसुन्धरा भुसाल, साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली, गीतकार सङ्घ नेपालका अध्यक्ष वसन्त बित्यासी थापा, चलचित्र कलाकार सङ्घका अध्यक्ष उत्तम केसी, गायिका देविका बन्दना, विमला राई, सङ्गीतकार राजु सिंह, चलचित्र निर्माता प्रदीप उदयलगायत साहित्य, सङ्गीत, चलचित्र र सामाजिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन हेम सुवेदी र सेसेमी लिम्बूले गरेका थिए।

गीतकार उन्नती बोहरा ‘शीला’का ‘कोसेली उसैलाई’, ‘भावनाका तरङ्ग’ र ‘अदृश्य घाउ’लगायत कृति प्रकाशित छन्। उनको ‘सिक्काका दुई पाटा’ उपन्यास पनि प्रकाशित छ। उनका केही साहित्यिक सिर्जना अङ्ग्रेजी भाषामा समेत अनुवाद भएका छन् भने नेपाली गीतसाहित्यमा उनको योगदानबारे त्रिभुवन विश्वविद्यालयमा प्राज्ञिक अनुसन्धानसमेत भएको छ।

महिला गीतकार सङ्घकी संस्थापक अध्यक्षसमेत रहेकी शीला विभिन्न साहित्यिक तथा सामाजिक संस्थामा सक्रिय छिन्। साहित्य र सङ्गीतमा योगदान पुर्‍याएबापत उनले प्रबल गोरखा दक्षिणबाहु, म्युजिक खबर सङ्गीतशीला सम्मान र नेशनल क्यापिटल लाइफटाइम अचिभमेन्ट अवार्डलगायत दर्जनौँ सम्मान तथा पुरस्कार प्राप्त गरिसकेकी छन्।

पर्दापछाडि रहेर सिर्जना गर्ने गीतकार तथा सर्जकहरूको योगदानलाई उजागर गर्नुका साथै नयाँ पुस्ताका गीतकारलाई प्रेरणा दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

तस्बिर : बद्री थापा, ब्युटी न्युज नेपाल