ब्युटी न्युज नेपाल
काठमाडौँ, २१ कात्तिक
आफ्नो मुखबाट कागको हुबहु आवाज निकालेर सयौँ कागलाई एकै ठाउँमा भेला पार्ने अनौठो कला भएका कलाकार रमेश दुलालले यस वर्ष पनि काग तिहारको अवसरमा २३औँ काग सम्मेलन आयोजना गरेका छन्। उनले शनिबार बिहान काठमाडौँको नारायणहिटी दरबारमार्ग परिसरमा कागको आवाज निकाल्दै सम्मेलन सम्पन्न गरेका हुन्।
राष्ट्रिय संगीतकर्मी संघ र इलामको सन्दकपुर गाउँपालिकाको आयोजनामा सम्पन्न सम्मेलनमा दुलालले मुखबाट काग कराएको आवाज निकाल्न थालेपछि आकाशमा सयौँ काग भेला भएका थिए। उनको आवाज सुनेर टाढाटाढाबाट उड्दै आएका कागहरू कार्यक्रमस्थल वरिपरि जम्मा भएका थिए।
करिब १०० प्रकारका आवाज हुबहु निकाल्न सक्ने क्षमता भएका दुलालले विगत २३ वर्षदेखि निरन्तर काग तिहारका दिन यस्तो सम्मेलन आयोजना गर्दै आएका छन्। उनको यो अनौठो कला काग तिहारको विशेष आकर्षणसमेत बन्दै आएको छ।

राष्ट्रिय संगीतकर्मी संघका उपाध्यक्षसमेत रहेका दुलालले काग सम्मेलनको २५औँ संस्करणलाई विशेष र भव्य रूपमा आयोजना गर्ने योजना सुनाए। त्यसका लागि ठूलो मञ्च निर्माण गरी कार्यक्रमलाई थप व्यवस्थित र आकर्षक बनाउने आफ्नो तयारी रहेको उनले बताए।
काग सम्मेलनमार्फत मनोरञ्जनसँगै उनले समसामयिक राजनीतिक विषयमा पनि आफ्नो धारणा राखेका थिए। नयाँ पुस्ताका नेताहरूले देशलाई चाँडोभन्दा चाँडो विकासको गतिमा अगाडि बढाउनेमा आफू आशावादी रहेको उनको भनाइ थियो।
कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष प्रकाश कटुवालसहित विभिन्न कलाकार तथा संगीतकर्मीहरूको उपस्थिति रहेको थियो।
हरेक वर्ष काग तिहारलाई विशेष बनाउँदै आएका दुलालको यो अनौठो प्रतिभाले तिहारको सांस्कृतिक महत्त्वलाई मनोरञ्जनसँग जोड्दै आएको छ। कागलाई यमराजको सन्देशवाहकका रूपमा पूजा गर्ने नेपाली परम्परामा उनको काग सम्मेलनले थप आकर्षण र उत्सुकता सिर्जना गर्दै आएको छ।








