विष्णु माझी र वसन्त थापाको सहकार्यमा ‘फूल प्याउलीको’ सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौँ, २१ कात्तिक

नेपाली लोकदोहोरी संगीतमा लोकप्रियता कमाएका गायिका विष्णु माझी, गायक तथा संगीतकार वसन्त थापा र गीतकार नवराज पन्तको सहकार्यमा नयाँ गीत ‘फूल प्याउलीको’ सार्वजनिक भएको छ। मौलिक लोकलयसँगै नृत्यप्रधान शैलीमा तयार पारिएको यस गीतले नेपाली गाउँघरको संस्कृति, जनजीवन र मायाप्रेमको भावलाई समेटेको छ।

गीतमा चर्चित गीतकार नवराज पन्तका शब्द र वसन्त थापाको संगीत रहेको छ। गायिका विष्णु माझीलाई स्वरमा गायक वसन्त थापाले साथ दिएका छन्। गीतलाई ‘एसएस सिरिज’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

‘डाँडै फुर्के सल्लो’ र ‘सालको पातको टपरी’जस्ता लोकप्रिय गीतमा सहकार्य गरेका यी तीन सर्जक केही समयको अन्तरालपछि पुनः एकसाथ आएका हुन्। उनीहरूको नयाँ सहकार्यले लोकदोहोरी पारखीमाझ थप उत्सुकता जगाएको छ।

गीतमा विदेश तथा सहरको व्यस्त जीवनबाट दिक्क भएर आफ्नै गाउँठाउँको प्राकृतिक सौन्दर्य, संस्कृति र जीवनशैलीप्रति आकर्षित भएको भाव प्रस्तुत गरिएको छ। गाउँघरका फूल, पहाडी परिवेश, मौलिक रहनसहन र आत्मीयतालाई गीतका शब्द तथा लयमार्फत अभिव्यक्त गरिएको छ। विष्णु माझीको जादुमय स्वर र वसन्त थापाको ठेट लोकगायकीले गीतलाई थप कर्णप्रिय बनाएको छ।

गीतको भिडियोमा चर्चित डान्सर तथा मोडल प्रदीप लामा र मोडल जुना विश्वकर्माको अभिनय तथा नृत्य देख्न सकिन्छ। लाहुरे गाउँ फर्किएको परिवेशलाई केन्द्रमा राखेर तयार पारिएको भिडियोमा मेलापात, घाँस–दाउरा, ढिकी–जाँतो, रोदी र झ्याउरे संस्कृतिसहित नेपाली मौलिक जनजीवनका दृश्य समेटिएका छन्। हिमशृङ्खला र रमणीय पहाडी भूगोलको पृष्ठभूमिमा खिचिएको भिडियोले नेपाली ग्रामीण परिवेशको सुन्दरता प्रस्तुत गरेको छ।

भिडियोको निर्देशन तथा कोरियोग्राफी मौसम हिमालीले गरेका हुन्। नवराज उप्रेतीको छायाङ्कन रहेको भिडियो मनोज कार्कीले सम्पादन गरेका छन्। गीतका निर्माता अर्जुन बोहरा हुन्। गीतले दर्शक तथा श्रोताको मन जित्नेमा आफू विश्वस्त रहेको गायक तथा संगीतकार वसन्त थापाले बताएका छन्।