निरुता सिंहलाई मानार्थ मिसेस नेपाल वर्ल्ड २०२६ को उपाधि प्रदान गरिँदै


ब्युटी न्युज नेपाल
काठमाडौँ, १३ असोज

नेपाली चलचित्र क्षेत्रमा साढे तीन दशकभन्दा लामो समयदेखि आफ्नो अभिनय प्रतिभामार्फत दर्शकको मन जित्दै आएकी अभिनेत्री निरुता सिंह मानार्थ मिसेस नेपाल वर्ल्ड २०२६ को उपाधिबाट सम्मानित हुने भएकी छन्। रिबन इन्टरटेनमेन्ट प्रालिले शनिबार राजधानीमा आयोजना गर्न लागेको ‘ह्विस्पर मिसेस नेपाल वर्ल्ड २०२६’ को भव्य समारोहमा उनलाई उक्त मानार्थ उपाधि प्रदान गरिने भएको हो। यसअघि अभिनेत्रीहरू करिश्मा मानन्धर, गौरी मल्ल, भुवन चन्द थापा, वसुन्धरा भुसाल र पूजा चन्दलाई पनि मानार्थ मिसेस नेपाल वर्ल्डको उपाधिबाट सम्मानित गरिसकिएको छ।

नेपाली चलचित्र क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल सिंहलाई अभिनय यात्रा, कला क्षेत्रमा पुर्‍याएको योगदान, उपलब्धि तथा प्रेरणादायी व्यक्तित्वको कदरस्वरूप सम्मान गर्न लागिएको आयोजकले जनाएको छ। आयोजक संस्था रिबन इन्टरटेनमेन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत निशुकान्त झाले सिंहको योगदानको उच्च मूल्याङ्कन गर्दै मानार्थ उपाधिबाट सम्मान गर्न लागिएको जानकारी दिए।

सन् १९९३ मा निर्देशक तुलसी घिमिरेको चलचित्र ‘दक्षिणा’बाट अभिनय यात्रा सुरु गरेकी सिंहले ‘रहर’, ‘मितज्यू’, ‘दर्पणछायाँ’, ‘आफन्त’, ‘आफ्नो मान्छे’, ‘ठुलदाई’, ‘बन्धकी’, ‘चाँदनी’, ‘को आफ्नो को विरानो’, ‘नाता रगतको’, ‘खानदान’, ‘दाल भात तरकारी’ र ‘३६ को आँकडा’लगायत दर्जनौँ चलचित्रमा अभिनय गरेकी छन्। सशक्त अभिनय, आकर्षक व्यक्तित्व र दर्शकमाझको लोकप्रियताका कारण उनले नेपाली चलचित्र क्षेत्रमा छुट्टै स्थान बनाउन सफल भएकी हुन्।

अभिनयसँगै गायनमा समेत रुचि राख्ने सिंहले नेपाल टेलिभिजनबाट प्रसारण भएको पारिवारिक धारावाहिक ‘वंश’को शीर्षगीतमा स्वर दिएकी थिइन्। उनले ‘दीपशिखा’ नामक म्युजिक एल्बमका लागि समेत गीत गाएकी छन्।

चलचित्र क्षेत्रबाट केही समय विश्राम लिएर भारतको मुम्बईमा बसोबास गर्दै आएकी सिंहले सन् २०१९ मा मह जोडीको चलचित्र ‘दाल भात तरकारी’मार्फत अभिनयमा पुनरागमन गरेकी थिइन्। नेपाली कला, संस्कृति र चलचित्र क्षेत्रको प्रवर्द्धनमा समेत योगदान पुर्‍याउँदै आएकी उनलाई नेपाल सरकारले सन् २०२३ मा प्रबल जनसेवाश्री पदकबाट सम्मानित गरेको थियो।

यसैबीच, ‘ह्विस्पर मिसेस नेपाल वर्ल्ड २०२६’ को अन्तिम प्रतिस्पर्धामा सहभागी हुन मिसेस वर्ल्ड २०२५ की विजेता चनिता श्रीदाकेत क्रेथोर्न (स्यामी) तीनदिने भ्रमणका लागि शुक्रबार दिउँसो काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको छ। आयोजक शिला बास्तोलाका अनुसार थाइल्यान्डकी स्यामीले मिसेस वर्ल्डको ताज जितेपछि पहिलोपटक नेपाल भ्रमण गर्न लागेकी हुन्। नेपाल बसाइका क्रममा उनी मिसेस नेपाल वर्ल्डसँग सम्बन्धित विभिन्न कार्यक्रम तथा गतिविधिमा सहभागी हुनेछिन्।

यस वर्षको प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा २२ जना प्रतिस्पर्धीले विभिन्न उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। प्रतिस्पर्धामा प्रियशिखा खड्का, सगुन खनाल, सोफिया ढकाल, ऋचा शर्मा, स्वेक्षा पौड्याल, रस्ना श्रेष्ठ, यस्मिन बेगम सइद, नेहा गुप्ता, दिप्ती ढुंगेल, बिन्दु थापा राना, शिल्पा न्यौपाने, शान्ता राना, सुनिता श्रेष्ठ कर्माचार्य, सन्ध्या लामा, बिनिता गुरुङ, ज्योति लामिछाने, समीक्षा रानाभाट, सुष्मा थापा, क्रिस्टिना ज्ञवाली, अञ्जु परियार, मोनिका तामाङ र कञ्चन महर्जन सहभागी छन् ।

त्यसैगरी, यही मञ्चबाट ‘मिसेस नेपाल इन्टरनेसनल’, ‘एमएस इन्टरनेसनल’ र ‘मिसेस कोस्मो’का विजेतासमेत चयन गरिने आयोजकले जनाएको छ। ती उपाधिका विजेताले सिंगापुरमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन्। अश्विनी झाको कोरियोग्राफी तथा निशा बराइलीको सह–कोरियोग्राफीमा सञ्चालन हुने प्रतियोगितालाई गङ्गा महर्जन र विन्दिया श्रेष्ठले संयोजन गर्नेछन्।