ब्युटी न्युज नेपाल
काठमाडौँ, १० कात्तिक
नेपाली चलचित्र ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज प्राप्त गरेको छ। चलचित्र प्रदर्शन भएको केही महिनामै गीतले हासिल गरेको यो सफलताले यसको लोकप्रियता दर्शाएको छ। षट्कोण आर्ट्सको आधिकारिक युट्युब च्यानलमा १३ मार्च २०२६ मा सार्वजनिक भएको गीतले करिब सात महिनामै यो उपलब्धि हासिल गरेको हो।
गीतले पाँच करोड भ्युजको आँकडा पार गरेपछि अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेकी छन्। उनले गीतले आफ्नो करियरमा पुर्याएको योगदान उल्लेख गर्दै नेपाली गीतसंगीतले आफूलाई दर्शकमाझ पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको बताएकी छन्।
स्वस्तिमाले लेखेकी छन्, ‘नेपालका कतिपय ठाउँमा, जहाँ सायद मेरा फिल्महरू पुग्न सकेनन्, त्यहाँ मेरा गीतहरूले मलाई पुर्याइदिए । मेरो करियरमा गीतहरूको भूमिका एकदमै ठूलो छ ।’
चलचित्र ‘लालीबजार’मा समावेश यस गीतमा स्वस्तिमा खड्का र समाइरा थापालगायतका कलाकारको आकर्षक प्रस्तुति देख्न सकिन्छ। खेम सेन्चुरी र दीपिका बयम्बु मगरको स्वर रहेको गीतमा रमेश बीजीको शब्द तथा खेम सेन्चुरीको संगीत छ। गीतको नृत्य निर्देशन प्रदीप लामाले गरेका हुन्।
युट्युबमा करोडौँ दर्शकको साथ पाएको यो गीत टिकटक र इन्स्टाग्राम रिल्समा समेत लोकप्रिय बनेको छ। गीतको संगीत, नृत्य र कलाकारको प्रस्तुतिले सामाजिक सञ्जालमा दर्शकको ध्यान खिच्न सफल भएको छ।
गत वैशाख २५ गते नेपालमा प्रदर्शन भएको ‘लालीबजार’ले सफलतापूर्वक प्रदर्शनको ५१औँ दिनसमेत मनाएको थियो। आमाछोरीको सम्बन्ध र शिक्षाको महत्त्वलाई कथामार्फत प्रस्तुत गरिएको यो चलचित्र दसैँको अवसर पारेर ओटीटी प्लेटफर्म डिगोमा सार्वजनिक गरिएको छ। डिजिटल प्लेटफर्ममा चलचित्र उपलब्ध भएपछि विदेशमा रहेका नेपाली दर्शकले समेत हेरेर सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिइरहेका छन्। चलचित्रले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ।
यम थापाको कथा तथा निर्देशनमा बनेको चलचित्रमा स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी र कुन्टललगायतका कलाकारको अभिनय छ। यही चलचित्रमार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले अभिनयमा पदार्पण गरेका हुन्।
चलचित्रको पटकथा तथा संवाद निर्देशक यम थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा लेखेका हुन्। प्रदीप भट्टराई कार्यकारी निर्माता रहेको चलचित्रमा म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता छन्।
गीतले हासिल गरेको पाँच करोडभन्दा बढी भ्युजले चलचित्रका गीतले कलाकारको लोकप्रियता विस्तार गर्न र चलचित्रलाई दर्शकमाझ चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने तथ्यलाई पुनः उजागर गरेको छ।









