‘कबड्डी ५’मा काजीको मनको कथा, ‘बुझ्न मलाई’ गीत सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौँ, १२ कात्तिक

व्यावसायिक सफलता हासिल गरिरहेको नेपाली चलचित्र ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ले दर्शकमाझ नयाँ गीत ‘बुझ्न मलाई’ सार्वजनिक गरेको छ। चलचित्रमा काजीको भूमिकामा देखिएका अभिनेता दयाहाङ राईको चरित्र र भावनात्मक उतारचढावलाई केन्द्रमा राखेर तयार पारिएको गीत बाँसुरी फिल्म्सको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

‘कबड्डी’ शृङ्खलाको सुरुवातदेखि पाँचौँ भागसम्म आइपुग्दा काजीको चरित्रले भोगेका विभिन्न अनुभव र मनभित्रका अन्तर्द्वन्द्वलाई गीतमा समेटिएको छ। बाहिरबाट जिद्दी र अप्रत्याशित स्वभावका देखिने काजीको भित्री मनमा लुकेका भावना, संवेदना र मानवीय पक्षलाई गीतले सांगीतिक रूपमा प्रस्तुत गरेको छ।

गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाको शब्द, संगीत र स्वर रहेको गीतमा गितार तथा अर्गनमा आशिष चित्रकार, ड्रम्समा सरिन बज्राचार्य र बास गितारमा कृष्ण लिम्बूले साथ दिएका छन्। अमूल्य श्रेष्ठले अडियोसक स्टुडियोमा गीत रेकर्ड गरेका हुन् भने बिजु कर्माचार्यले रेकर्ड प्रोड्युसरको जिम्मेवारी सम्हालेका छन्। गीतको अडियो मिक्सिङ रिकेश गुरुङले गरेका हुन्।

यसअघि सार्वजनिक चलचित्रको प्रचारात्मक गीत ‘थाक खोला’ले पनि दर्शकमाझ राम्रो चर्चा पाएको थियो। कालीप्रसाद बास्कोटाकै शब्द, संगीत र स्वर रहेको उक्त गीतमा काजी र उनका तीन सोल्टिनी मैयाँ (रिश्मा गुरुङ), मिस शान्ति (मिरुना मगर) र सिर्जना गुरुङबीचको प्रेम, नोकझोक र अन्योलपूर्ण सम्बन्धलाई रोचक शैलीमा प्रस्तुत गरिएको छ। थकाली परिवेश र मौलिक नेपाली स्वाद समेटिएको गीतले चलचित्र प्रदर्शनअघि नै दर्शकमाझ उत्सुकता बढाएको थियो।

रामबाबु गुरुङको कथा तथा निर्देशनमा बनेको चलचित्रले प्रदर्शनसँगै व्यावसायिक रूपमा पनि राम्रो गति लिएको छ। गत कात्तिक ६ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले मंगलबारसम्म सात करोड रुपैयाँभन्दा बढी व्यापार गरेको निर्देशक गुरुङले दाबी गरेका छन्। चलचित्रका अधिकांश शोमा दर्शकको उल्लेख्य उपस्थिति रहेको निर्माण पक्षले जनाएको छ।

चलचित्रमा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, सिर्जना गुरुङ, विपीन कार्की, रिश्मा गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देललगायत कलाकारले अभिनय गरेका छन्।

बाँसुरी फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्रका निर्माता रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ हुन्।