ब्युटी न्युज नेपाल
काठमाडौँ, १२ कात्तिक
मगर र गुरुङ समुदायको संस्कृति, परम्परा र भावनात्मक सम्बन्धलाई कथाको केन्द्रमा राखेर निर्माण गरिएको नेपाली चलचित्र ‘जलाकी’को अमेरिका र क्यानडामा प्रदर्शन हुने निश्चित भएको छ। चलचित्रको यी दुई देशका लागि अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार पिएनएम एलएलसीले खरिद गरेको निर्देशक अशोक थापा मगरले जानकारी दिएका छन्।
निर्देशक मगरका अनुसार अमेरिका र क्यानडामा चलचित्र प्रदर्शन हुने मिति वितरक र निर्माण पक्षबीचको आपसी छलफलपछि तय गरिनेछ। नेपालमा भने ‘जलाकी’ आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।
चलचित्रका ‘कलेजीको छेऊ’, ‘चाँदी जलप’ र ‘जाले रुमाल मायालाई’ बोलका गीत तथा टिजर सार्वजनिक भइसकेका छन्। सार्वजनिक सामग्रीमध्ये ‘चाँदी जलप’ गीतले विशेष चर्चा पाएको छ। उक्त गीतमा १० लाखभन्दा बढी टिकटक भिडियो बनाइएको निर्माण पक्षले जनाएको छ। अन्य दुई गीत पनि सामाजिक सञ्जालमा रिल्स तथा सर्ट्समार्फत दर्शकमाझ लोकप्रिय भइरहेका छन्।
निर्देशक मगरका अनुसार ‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गाबाट निर्मित स्तम्भलाई जनाउने शब्द हो। यही सांस्कृतिक प्रतीकलाई आधार बनाएर चलचित्रमा मगर र गुरुङ समुदायको जीवनशैली, परम्परा, आस्था र भावनात्मक पक्षलाई प्रस्तुत गरिएको छ।
एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्रमा उपासना सिंह ठकुरी, सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर र दुइसाङ थिनलगायतको अभिनय छ। क्याप्टेन विजय लामाले विशेष भूमिका निर्वाह गरेका छन्।
यसै चलचित्रबाट मिस सिक्किम साहारा हाङमा लिम्बूले नेपाली चलचित्रमा पदार्पण गरेकी छन्। बालकलाकारका रूपमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगर पनि चलचित्रमा देखिनेछन्।
चलचित्रका निर्माता ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन्। चलचित्रलाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिब्युसनले वितरण गर्नेछन्।








