ब्युटी न्युज नेपाल
काठमाडौँ, १२ कात्तिक
ब्लकबस्टर चलचित्र ‘परान’का निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा निर्माण भएको चलचित्र ‘चिरञ्जीवी भवः’को स्वराङ्कन सुरु भएको छ। निर्माणपक्षका अनुसार बिहीबारदेखि पोस्ट प्रोडक्सनअन्तर्गत स्वराङ्कनको काम थालिएको हो।
जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा अभिनेता हरिवंश आचार्यले आफ्नो संवाद रेकर्ड गराउँदै स्वराङ्कनको सुरुवात गरेका छन्। निर्देशक आचार्यले चलचित्रको निर्माणदेखि पोस्ट प्रोडक्सनसम्म गुणस्तरमा सम्झौता नगरिने बताएका छन्।
सामाजिक विषयवस्तुमा आधारित चलचित्रले दुई पुस्ताबीचको वैचारिक भिन्नता, पुस्तान्तरण र पारिवारिक सम्बन्धलाई मुख्य कथावस्तु बनाएको छ। चलचित्रमा हरिवंश आचार्यसँगै करिश्मा मानन्धर, आशीर्वाद क्षेत्री, प्रशंसा रायमाझीलगायत कलाकारको अभिनय रहेको छ। प्रशंसाले यसै चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्दैछिन्।
कुमार कट्टेल ‘जिग्री ब्रो’समेत जोडिएको चलचित्रको कथा कट्टेलले लेखेका हुन् भने पटकथा तथा संवाद सविन अधिकारी र वसन्त न्यौपानेले तयार पारेका छन्। उमेशकुमार बराल र चिरन केसी निर्माता रहेको चलचित्रको छायाङ्कन धनकुटा, सुनसरी र काठमाडौँमा गरिएको हो। ‘चिरञ्जीवी भवः’ आगामी २०८३ माघ १ गते (१५ जनवरी २०२७) देखि देशभर प्रदर्शनमा आउनेछ। चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ।








