डेनमार्कमा छायांकन गरिएको आकाश सिग्देलको ‘मायालुले’ सार्वजनिक https://beautynewsnepal.com/37279/


ब्युटी न्युज नेपाल
काठमाडौँ, १२ कात्तिक

नेपाल र डेनमार्कका कलाकार तथा प्राविधिकको सहकार्यमा तयार भएको नयाँ गीत ‘मायालुले’को म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक आकाश सिग्देलको शब्द, संगीत र स्वर रहेको गीतको भिडियो डेनमार्कको राजधानी कोपनहेगनमा छायांकन गरिएको हो।

कुन्ता न्यौपाने सिग्देल निर्माता रहेको भिडियोको निर्देशन रजनीश चौधरीले गरेका छन्। भिडियोमा प्रदीप्ति पोखरेल, टाइगर सुवेदी ‘बाबिन’ र सबित काफ्लेको अभिनय रहेको छ। उनीहरू कोपनहेगनमा रहेर कला क्षेत्रमा सक्रिय नवकलाकार हुन्।

भिडियोको छायांकन विकल थापाले गरेका हुन् भने सम्पादन तथा रङ संयोजन रिषन महर्जनले गरेका छन्। गीतको स्वर रेकर्डिङ तथा ध्वनि व्यवस्थापन डेनमार्कस्थित एआरके रेकर्डिङ स्टुडियोमा क्रिस्टियन डाल्सगार्डले गरेका हुन्। गीतको संगीत उत्पादन भने पोखरास्थित क्रेजी स्टुडियोमा गरिएको हो।

गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ विनोद रसाइलीले गरेका छन्। वाद्यवादनतर्फ गितारमा सुमन तामाङ, बाँसुरीमा नगेन्द्र विक्रम राई, भायोलिनमा बोबी दियाली, बेस गितारमा आशिम गुरुङ र ड्रम्समा गुप्ता गुरुङको योगदान रहेको छ।

प्रवासमा रहेर पनि नेपाली संगीत सिर्जनामा सक्रिय आकाश सिग्देलको ‘मायालुले’ले नेपाल र डेनमार्कका कलाकार तथा प्राविधिकलाई एउटै परियोजनामा जोडेको छ। नेपाली कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय परिवेशसँग जोड्ने प्रयासका रूपमा यस गीतलाई हेरिएको छ।