ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न


ब्युटी न्युज नेपाल
काठमाडौँ, १२ कात्तिक

गुरुङ सभ्यता, संस्कृति र ऐतिहासिक परिवेशलाई समेटेर निर्माण भइरहेको नेपाली चलचित्र ‘बुकी फूल’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। मंगलबार कास्कीको मादी गाउँपालिकास्थित पर्यटकीय गाउँ ताङतिङमा अन्तिम दृश्य छायांकन गर्दै चलचित्रको इन्डक्ल्याप गरिएको हो।

गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री वेदबहादुर गुरुङ ‘श्याम’को परिकल्पनामा निर्माण भएको चलचित्र अभियान फिल्म्स प्रोडक्सन प्रालिको ब्यानरमा तयार भइरहेको छ। असोज १ गते कास्कीको पर्यटकीय गाउँ सिक्लेसबाट शुभमुहूर्त गरिएको चलचित्रको निर्देशन ओमप्रकाश गुरुङले गरेका हुन्।

चलचित्रमा अभिनेता दयाहाङ राई मुख्य भूमिकामा छन् भने अभिनेत्री संस्कृति गुरुङले यसै चलचित्रबाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्दैछिन्। साथै पुष्कर गुरुङ, कविता आले, विश्वास गुरुङ, माया गुरुङ, राजेश गुरुङ, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय रहेको छ।

चलचित्रका प्रोडक्सन म्यानेजर डीबी गुरुङका अनुसार छायांकन सम्पन्न भएसँगै अब सम्पादनको काम सुरु गरिनेछ। चलचित्रको छायांकन सुसान प्रजापतिले गरेका हुन् भने नृत्य निर्देशन कमलबहादुर गुरुङले गरेका छन्।

गुरुङ समुदायको मौलिक कथा, परम्परा, संस्कार र तत्कालीन जीवनशैलीलाई पर्दामा प्रस्तुत गर्ने उद्देश्यले निर्माण गरिएको ‘बुकी फूल’ले सांस्कृतिक पहिचानलाई प्राथमिकता दिएको निर्माणपक्षले जनाएको छ। सिक्लेस, ताङतिङ तथा आसपासका क्षेत्रमा छायांकन गरिएको चलचित्र अब पोस्ट प्रोडक्सनको चरणमा प्रवेश गर्नेछ। प्रदर्शन मिति भने निर्माणपक्षले सार्वजनिक गरेको छैन।