मिसेस नेपाल वर्ल्डको  फिनालेमा सहभागी हुन मिसेस वर्ल्ड २०२५ स्यामी नेपाल आउँदै


ब्युटी न्युज नेपाल
काठमाडौँ, ११ कात्तिक

रिवन इन्टरटेनमेन्टको आयोजनामा यही शनिबार काठमाडौँस्थित पुलिस क्लबमा ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनाले आयोजना हुँदैछ। प्रतियोगितामा यसपटक २२ जना विवाहित महिला अन्तिम प्रतिस्पर्धामा उत्रने आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले ब्युटी न्युज नेपाललाई जानकारी दिएका छन्।

प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरमा थप महत्त्वपूर्ण बनाउन तथा सहभागी महिलालाई प्रोत्साहन दिन मिसेस वर्ल्ड २०२५ की विजेता चनिता श्रीदाकेत क्रेथोर्न (स्यामी) नेपाल आउने भएकी छन्। उनी तीनदिने नेपाल भ्रमणका लागि शुक्रबार काठमाडौँ आइपुग्ने कार्यक्रम छ।

स्यामीले आफ्नो सामाजिक सञ्जालमार्फत मिसेस नेपाल वर्ल्डका प्रतिस्पर्धीलाई हौसला प्रदान गर्न नेपाल आउन लागेकोमा खुसी व्यक्त गरेकी छन्। उनले प्रतियोगिताको भव्य सफलताको शुभकामनासमेत दिएकी छन्।

मिसेस वर्ल्डको ताज जितेपछि नेपाल आउन लागेकी स्यामीको भ्रमणलाई विवाहित महिलाको आत्मविश्वास, क्षमता र सशक्तीकरणका विषयमा अनुभव आदानप्रदान गर्ने अवसरका रूपमा हेरिएको छ। भ्रमणका क्रममा उनी मिसेस नेपाल वर्ल्डसँग सम्बन्धित कार्यक्रम तथा गतिविधिमा सहभागी हुनेछिन्।

स्यामीले आमाहरूको खुसीलाई केन्द्रमा राखेर सामाजिक अभियानसमेत अघि बढाउँदै आएकी छन्। ‘जब आमा खुसी हुन्छिन्, तब परिवार र समाज पनि बलियो बन्दै जान्छन्’ भन्ने मान्यतामा आधारित उनको अभियानले आमाको खुसी, सकारात्मक सोच र पारिवारिक सुखले समाजको समग्र विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने सन्देश प्रवाह गर्छ।

उनका लागि सौन्दर्य प्रतियोगिताबाट प्राप्त ताज केवल व्यक्तिगत सफलताको प्रतीक मात्र होइन, समाजमा सकारात्मक परिवर्तन ल्याउने जिम्मेवारीसमेत हो। प्राप्त अवसर, आवाज र भूमिकालाई अरू महिलाका लागि प्रेरणा बनाउनुपर्ने उनको दृष्टिकोण छ।

थाइल्यान्डबाट नेपाल आउन लागेकी स्यामीले विभिन्न संस्कृति र पृष्ठभूमिका महिलाबीच अनुभव आदानप्रदान, आपसी सम्बन्ध विस्तार तथा महिला सशक्तीकरणको सन्देश प्रवाहमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। उनको उपस्थितिले ‘मिसेस नेपाल वर्ल्ड २०२६’ का प्रतिस्पर्धीलाई अन्तर्राष्ट्रिय मञ्चको अनुभव र प्रेरणा प्रदान गर्ने विश्वास आयोजकले लिएको छ।