अनमोल र प्रिन्सीको प्रेमिल नोकझोक ‘अल्लारे ठिटो आयो’मा


ब्युटी न्युज नेपाल
काठमाडौँ, ८ कात्तिक

अभिनेता अनमोल केसी र नवअभिनेत्री प्रिन्सी खतिवडाको प्रेमिल केमेस्ट्रीलाई समेट्दै चलचित्र ‘बाटुलो जून’को नयाँ गीत ‘अल्लारे ठिटो आयो’ सार्वजनिक गरिएको छ। आगामी कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउने चलचित्रको यो गीत आइतबार युट्युबमार्फत सार्वजनिक गरिएको हो।

पुरानो नेपाली समाजको मौलिक परिवेशमा तयार पारिएको गीतको भिडियोमा अनमोल र प्रिन्सीको दोहोरी शैलीको नोकझोक तथा प्रेमभाव देखाइएको छ। पञ्चेबाजा, सारङ्गी, गितार र बाँसुरीका धुन समेटिएको गीतले तत्कालीन नेपाली समाजको सांस्कृतिक झल्को दिने प्रयास गरेको छ। नजिकिँदो तिहार र देउसीभैलोको रौनकलाई ध्यानमा राखेर गीत सार्वजनिक गरिएको निर्माण पक्षले जनाएको छ।

गीतमा रुबै र प्रवीण बेडुवालको स्वर छ। रूप महानताले संगीत निर्माण, मिक्सिङ तथा मास्टरिङ गरेका छन्।

भुवन केसीको निर्देशनमा बनेको ‘बाटुलो जून’मा १९३० देखि १९४० को दशकको नेपाली परिवेशमा आधारित प्रेमकथा प्रस्तुत गरिएको छ। चलचित्रले त्यस समयको सामाजिक अवस्था, जीवनशैली र प्रेम गर्ने शैलीलाई पर्दामा उतार्ने लक्ष्य राखेको निर्देशक केसीले बताएका छन्।

सनराइज पिक्चर्सको ब्यानरमा निर्मित चलचित्रमा भुवन केसी स्वयं पनि महत्त्वपूर्ण भूमिकामा छन्। सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको चलचित्रमा गरिमा पन्तले लामो समयपछि अभिनयमा पुनरागमन गरेकी छन्। चलचित्रका निर्माता जिया केसी र भविष्य खड्का तथा सहनिर्माता विवेक थापा हुन्।