‘सारथी’को टिजरमा निरुता सिंह र गिरि विश्वकर्माको रहस्यमय सम्बन्ध


ब्युटी न्युज नेपाल
काठमाडौँ, ४ कात्तिक

अभिनेत्री निरुता सिंह र नवअभिनेता गिरि विश्वकर्माबीचको रहस्यमय सम्बन्धलाई प्रस्तुत गर्दै चलचित्र ‘सारथी’को टिजर सार्वजनिक गरिएको छ। वरिष्ठ सम्पादक तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको चलचित्रको एक मिनेट सात सेकेन्ड लामो टिजर निर्देशक कुमार गजुरेलको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको हो।

टिजरमा काउब्वाय ह्याट लगाएका, हातमा लालटिन बोकेका गिरि अँध्यारो जङ्गली बाटोमा रहस्यमय यात्रामा निस्किएको देखिन्छ। यात्राका क्रममा देखिने अपरिचित आकृति, अचानक भाग्ने घोडा र त्यसको पछिपछि लाग्दा देखिने दृश्यले चलचित्रको कथाप्रति कौतूहल बढाउँछन्। टिजरको अन्त्यतिर निरुता सिंह देखिन्छिन्। गिरिले उनलाई ‘आमा’ भनेर सम्बोधन गरेपछि उनीहरूबीचको सम्बन्धबारे दर्शकमाझ जिज्ञासा थपिएको छ।

निरुता चलचित्रमा गिरिको आमाको भूमिकामा छिन् वा उनीहरूको सम्बन्धको कथाभित्र अर्को रहस्य लुकेको छ भन्ने विषय टिजरले खुलाएको छैन। मातृत्व, पारिवारिक सम्बन्ध र विछोडसँग जोडिएको हुन सक्ने कथाका केही भावनात्मक सङ्केत भने टिजरमा देखिन्छन्। रहस्यमय दृश्य र पात्रहरूको प्रस्तुतिमार्फत दर्शकलाई चलचित्रप्रति आकर्षित गर्ने प्रयास गरिएको छ।

अनुप बरालको एक्टर्स स्टुडियोमा अभिनय प्रशिक्षण लिएका गिरि विश्वकर्मा रङ्गमञ्चको अनुभवपछि यस चलचित्रमार्फत नेपाली रजतपटमा डेब्यु गर्दै छन्। लामो समयपछि निरुता सिंह र उत्तम प्रधानलाई एउटै चलचित्रमा देख्न पाउनु पनि ‘सारथी’को आकर्षणका रूपमा रहेको छ।

किम्भे प्रोडक्सन र धिरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको चलचित्रको सम्पूर्ण छायाङ्कन म्याग्दीको गुर्जा क्षेत्रमा गरिएको हो। रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको चलचित्रमा बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ कार्यकारी निर्माता छन्। अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा सहनिर्माता तथा अमिर केसी लाइन प्रोड्युसर हुन्।

चलचित्रमा निरुता सिंह, उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरि विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, अनिता कुईकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीको अभिनय रहेको छ।

संकल्प भुजेलको छायाङ्कन रहेको चलचित्रमा राजु खतिवडा मुख्य सहायक निर्देशक तथा यमुना आचार्य र आशिष श्रेष्ठ सहायक निर्देशक छन्। बाबुल गिरी र प्रशान्त शिवाकोटीको सङ्गीत रहेको चलचित्रमा बाबुल गिरी, प्रशान्त शिवाकोटी र रचना रिमालले स्वर दिएका छन्। श्याम कार्की कला निर्देशक र गोविन्द खड्का ड्रेस कोअर्डिनेटर रहेको चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ। ‘सारथी’ आगामी मङ्सिर ११ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने तयारीमा छ।