दीपाश्रीलाई आफ्नै चरित्रमा पर्दामा देख्दा राधिका दासी दंग


ब्युटी न्युज नेपाल
काठमाडौँ, ५ कात्तिक

चलचित्र ‘छ माया छपक्कै २’ मा अभिनेत्री दीपाश्री निरौलाले निर्वाह गरेको पुराणवाचिका माताको भूमिकाले यतिबेला दर्शकको ध्यान खिचेको छ। पर्दामा दीपाश्रीलाई आफ्नो चरित्रसँग मिल्दोजुल्दो भूमिकामा देखेपछि वास्तविक जीवनकी पुराणवाचिका राधिका दासी पनि प्रभावित भएकी छन्।

दीपाश्रीको भूमिका आफ्नै व्यक्तित्वसँग मिल्दोजुल्दो रहेको चर्चा भएपछि राधिकाले इटहरीस्थित एलिट सिनेमा हलमा पुगेर दीपाश्रीसँगै चलचित्र हेरेकी हुन्। चलचित्र हेर्ने क्रममा दुवैले रमाइलो अनुभव साटेका थिए। आफ्नो जस्तै चरित्र पर्दामा उतारेकोमा राधिकाले दीपाश्रीलाई धन्यवाद दिँदै चलचित्र मन परेको प्रतिक्रिया दिएकी छन्। दीपाश्रीले पनि राधिकासँगै बसेर चलचित्र हेर्न पाउँदा खुसी व्यक्त गरेकी छन्।

दशैँको अवसर पारेर असोज ३१ गतेदेखि प्रदर्शनमा आएको ‘छ माया छपक्कै २’ ले देश तथा विदेशका चलचित्र घरमा दर्शकको साथ पाइरहेको छ। वितरकहरूका अनुसार प्रदर्शनरत तीन नेपाली चलचित्रमध्ये यसले व्यापारमा अग्रता लिएको छ।

दीपेन्द्र लामाको निर्देशनमा बनेको चलचित्रमा दीपकराज गिरी र केकी अधिकारी श्रीमान्–श्रीमतीको भूमिकामा छन्। सात वर्षअघि प्रदर्शनमा आएको ‘छ माया छपक्कै’ को कथालाई निरन्तरता दिँदै यसमा सन्तान प्राप्तिका लागि दम्पतीले गर्ने संघर्षलाई हास्यरसमा प्रस्तुत गरिएको छ। अभिनेत्री सनिशा भट्टराईको प्रवेशले कथालाई थप रोचक बनाएको छ।

चलचित्रमा दीपाश्री निरौला, प्रकाश घिमिरे, कर्मा, रमा थपलिया, रियान गिरी, म्याक्सम गौडेल, निर्मल शर्मा र रविन्द्र झासहितका कलाकारको अभिनय छ। आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्म्स र आईएमईको प्रस्तुति रहेको चलचित्रका निर्माता रोहित अधिकारी हुन्। कथा दीपेन्द्र लामा र दीपकराज गिरीले तयार पारेका हुन् भने पटकथा तथा संवाद दीपकराज गिरीले लेखेका छन्।