‘कबड्डी ५’ को आक्रामक ओपनिङ, बिहानैदेखि हलमा दर्शकको भीड


ब्युटी न्युज नेपाल
काठमाडौँ, ६ कात्तिक

नेपाली चलचित्रको लोकप्रिय शृङ्खला ‘कबड्डी’को पाँचौँ भाग ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ शुक्रबारदेखि नेपालसहित विदेशका विभिन्न स्थानमा प्रदर्शनमा आएको छ। प्रदर्शनको पहिलो दिनदेखि नै चलचित्रले उत्साहजनक दर्शक साथ पाएको छ। दसैँको अवसरमा प्रदर्शनमा आएका अन्य चलचित्रको तुलनामा यसले देशभरका चलचित्र घरमा सबैभन्दा बढी, २२० भन्दा धेरै शो प्राप्त गरेको छ।

शुक्रबार बिहान ६ः३० बजेदेखि नै विभिन्न चलचित्र घरमा दर्शकको उपस्थिति बाक्लिएको थियो। अग्रिम टिकट बुकिङमै ११० भन्दा बढी शो हाउसफुल भएपछि चलचित्रको ओपनिङप्रति निर्माण पक्ष र प्रदर्शक उत्साहित देखिएका छन्। विशेषगरी पूर्वका धरान, इटहरी, दमक र बिर्तामोडमा बुकिङ आक्रामक देखिएको छ। काठमाडौँसँगै चितवन, नेपालगन्ज, बुटवल, पोखरा, दाङ, दमौली र कावासोतीलगायतका सहरमा पनि दर्शकको आकर्षण देखिएको छ।

अग्रिम बुकिङको अवस्थालाई आधार मान्दा चलचित्रले यस वर्षकै ठूलो ओपनिङ गर्ने अनुमान गरिएको छ। प्रदर्शनअघि नै अग्रिम बुकिङबाट ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको दाबी गरिएको चलचित्रले पहिलो दिन करिब डेढ करोड रुपैयाँको व्यापार गर्न सक्ने प्रक्षेपण गरिएको छ। दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएमा शनिबारको व्यापार दुई करोड रुपैयाँभन्दा माथि पुग्न सक्ने अपेक्षा गरिएको छ। यद्यपि, यी रकम प्रारम्भिक अनुमान हुन्, आधिकारिक व्यापारिक विवरण भने सार्वजनिक हुन बाँकी छ।

अघिल्ला चार शृङ्खलाको सफलतापछि आएको यस चलचित्रमा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, मिरुना मगर, रिश्मा गुरुङ र कमलमणि नेपाललगायत कलाकार पुरानै भूमिकामा देखिएका छन्। यसपटक अभिनेता विपिन कार्कीको प्रवेशलाई चलचित्रको प्रमुख आकर्षणका रूपमा हेरिएको छ। उनको आगमनले कथामा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ।

चलचित्रमार्फत सिर्जना गुरुङले अभिनेत्रीका रूपमा डेब्यु गरेकी छन्। यस शृङ्खलामा काजीको विवाह हुने विषय निर्माण पक्षले यसअघि नै सार्वजनिक गरिसकेको छ। त्यसैले काजीको विवाह र सिर्जना गुरुङको भूमिकालाई लिएर दर्शकमाझ चासो बढेको छ।

बाँसुरी फिल्म्सको ब्यानरमा निर्मित चलचित्रका निर्देशक रामबाबु गुरुङ हुन्। गुरुङसँगै मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी) निर्माता छन् भने सागर राज कार्यकारी निर्माता हुन्। लोकप्रिय शृङ्खलाको निरन्तरता, नयाँ कलाकारको प्रवेश र काजीको विवाहसँग जोडिएको कथाले ‘कबड्डी ५’ को प्रारम्भिक व्यापारलाई थप उत्साहजनक बनाएको देखिन्छ।