ब्युटी न्युज नेपाल
काठमाडौँ, ४ कात्तिक
यस वर्षको बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को अग्रिम टिकट बुकिङ खुला भएको छ। प्रदर्शनको मिति नजिकिँदै गर्दा चलचित्रले दर्शकमाझ बनाएको उत्साहको प्रभाव हलमा उपलब्ध गराइएका शोमा देखिन थालेको छ। देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले मात्रै काठमाडौँ उपत्यकामा २६ र उपत्यकाबाहिर २० शो उपलब्ध गराएको छ।
अग्रिम टिकट बुकिङ खुला भएसँगै चलचित्रले देशभरका मल्टीप्लेक्स र एकल पर्दामा उल्लेख्य शो पाउने अपेक्षा गरिएको छ। प्रारम्भिक चरणमै देशभर एक सयभन्दा बढी शो उपलब्ध भइसकेका छन्। अझै धेरै हलले शो सार्वजनिक गर्न बाँकी रहेकाले शुक्रबार बिहानसम्म चलचित्रले दुई सयभन्दा बढी शो पाउने विश्वास वितरकको छ।
चलचित्रको प्रचारप्रसारका क्रममा सार्वजनिक गीत ‘थाक खोला’, पोस्टर, टिजर र ट्रेलरले दर्शकमाझ राम्रो चर्चा बटुलेका छन्। विशेषगरी ‘कबड्डी’ शृङ्खलाका अघिल्ला चलचित्रले व्यावसायिक सफलता हासिल गरेकाले पाँचौँ भागप्रति दर्शकको चासो बढेको देखिन्छ। यसअघि प्रदर्शनमा आएका चारवटै शृङ्खलाले बक्सअफिसमा सफलता पाएका थिए। त्यही लोकप्रियतालाई निरन्तरता दिने लक्ष्यसहित निर्माण गरिएको चलचित्र कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।
रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की र शिशिर बाङ्देललगायत कलाकारको अभिनय छ। चलचित्रमा विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजार, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईं पनि देखिनेछन्।
बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्रमा निर्देशक गुरुङसँगै मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी) निर्माता छन् भने सागर राज कार्यकारी निर्माता हुन्। चलचित्रमा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायाङ्कन तथा सुरेन्द्र पौडेलको सम्पादन रहेको छ। मुख्य सहायक निर्देशकमा सोमनाथ खनाल र तारानाथ न्यौपाने छन्।
नेपालमा चलचित्रको वितरण ब्यांकटेश इन्टरटेनमेन्ट र टी फल्कले गर्नेछन् भने अन्तर्राष्ट्रिय वितरणको जिम्मेवारी सेभेन सिज इन्टरनेसनलले सम्हाल्नेछ। अग्रिम बुकिङ र प्रारम्भिक शो सङ्ख्याले चलचित्रको प्रदर्शनप्रति दर्शक तथा चलचित्र क्षेत्रको चासो बढेको संकेत गरेको छ।









