‘कबड्डी ५’ को दृश्य खिचेर सामाजिक सञ्जालमा नराख्न निर्माण पक्षको आग्रह


ब्युटी न्युज नेपाल
काठमाडौँ, ७ कात्तिक

प्रदर्शनको दोस्रो दिन शनिबार पनि नेपाली चलचित्र ‘कबड्डी ५– आफ्टर द फाइनल म्याच’ले अधिकांश चलचित्रघरमा उत्साहजनक व्यापार गरेको छ। यो चलचित्रले आज शनिबार देशभरका चलचित्र घरमा २९१ शो पाएको छ । जसमध्ये यो समाचार तयार गर्दासम्म २५० भन्दा बढी शो हाउसफुल हुने पक्का छ । पहिलो दिन हिजो शुक्रबार यो चलचित्रले २ करोड १३ लाख रुपैयाँको व्यापार गरेको निर्माण पक्षले जनाएको छ ।

शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्रले दर्शकको राम्रो साथ पाइरहेका बेला निर्माण पक्षले भने चलचित्रका दृश्य खिचेर अनधिकृत रूपमा सामाजिक सञ्जालमा सार्वजनिक नगर्न दर्शकसँग आग्रह गरेको छ।

चलचित्र हेर्न पुगेका केही दर्शकले हलभित्रै मोबाइलबाट लामालामा दृश्य खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गर्न थालेपछि निर्माण पक्षले यसप्रति गम्भीर ध्यानाकर्षण गराएको हो। चलचित्रको दृश्य, भिडियो क्लिप, संवाद तथा अन्य सामग्री अनुमति नलिई अपलोड, पुनःप्रकाशन वा प्रसारण नगर्न अनुरोध गर्दै शनिबार बाँसुरी फिल्म्सले प्रेस विज्ञप्ति जारी गरेको छ।

कार्यकारी निर्माता सागर राजद्वारा जारी विज्ञप्तिमा चलचित्रप्रति दर्शकले देखाएको माया, साथ र समर्थनप्रति आभार व्यक्त गर्दै सिर्जनात्मक कामको सम्मान गर्न आग्रह गरिएको छ। चलचित्र निर्माणमा कलाकार, प्राविधिक तथा चलचित्रकर्मीको मेहनत, समय र लगानी जोडिएको उल्लेख गर्दै यसको मौलिक स्वरूपमा संरक्षण गर्न दर्शकको सहयोग महत्त्वपूर्ण हुने निर्माण पक्षले जनाएको छ।

अनुमतिबिना चलचित्रका सामग्री अपलोड वा वितरण गरिएको पाइएमा प्रचलित कानुन तथा प्रतिलिपि अधिकारसम्बन्धी व्यवस्थाअनुसार आवश्यक कदम चाल्न सकिने पनि विज्ञप्तिमा उल्लेख छ। निर्माण पक्षले दर्शकलाई चलचित्रको आधिकारिक सामग्री साझा गर्न, सकारात्मक प्रतिक्रिया दिन र उचित माध्यमबाट चलचित्रलाई समर्थन गर्न आग्रह गरेको छ।

रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्रमा दयाहाङ राई, विजय बराल, विपिन कार्की, बुद्धि तामाङ, मिरुना मगर, रिश्मा गुरुङ र कमलमणि नेपाललगायत कलाकारको अभिनय रहेको छ।

निर्माण पक्षले दर्शकको माया र सहयोगलाई सिर्जनाको सम्मानका रूपमा लिँदै चलचित्रलाई हलमै हेरेर साथ दिन अनुरोध गरेको छ।