ब्युटी न्युज नेपाल
काठमाडौँ, ८ कात्तिक
रामबाबु गुरुङ निर्देशित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले प्रदर्शनको सुरुवाती दुई दिनमै उत्साहजनक व्यापार गरेपछि देशकै ठूलो मल्टिप्लेक्स सञ्जाल क्युएफएक्स सिनेमाजले ‘सुपरहिट’ ट्याग दिएको छ। क्युएफएक्सले आइतबारदेखि नै चलचित्रलाई उक्त ट्याग दिएको हो।
क्युएफएक्सका देशका नौ प्रमुख सहरमा रहेका १७ वटा हलमा प्रदर्शन भइरहेको चलचित्रले दुई दिनमा डेढ करोड रुपैयाँको व्यापार गरेको जनाइएको छ। चलचित्रले देशभर दर्शकको राम्रो साथ पाइरहेको निर्माण पक्षले जनाएको छ।
क्युएफएक्सले आइतबार उपत्यका र बाहिरका हलमा गरी चलचित्रलाई ७० भन्दा बढी शो दिएको छ। देशभर तीन सयभन्दा बढी शो पाएको चलचित्रका अधिकांश प्रदर्शन हाउसफुल भइरहेको निर्माण पक्षको भनाइ छ। गत शुक्रबार कात्तिक ६ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले दुई दिनमा तीन करोड रुपैयाँभन्दा बढी व्यापार गरेको निर्माण पक्षको अनुमान छ।
चलचित्रले दर्शक तथा समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। यसैबीच निर्देशक, कलाकार र निर्माताहरू विभिन्न सहरका चलचित्र हल पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन्। विशेषगरी काजीको विवाहको प्रसङ्गलाई लिएर दर्शकले खुसी व्यक्त गरिरहेका छन्।
बाँसुरी फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, विपिन कार्की, रिश्मा गुरुङलगायत कलाकारको अभिनय छ। चलचित्रमा निर्देशक गुरुङसँगै मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी) को लगानी रहेको छ।









