ब्युटी न्युज नेपाल
काठमाडौँ, ६ कात्तिक
नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय समुदायमाझ चिनाउने र सामाजिक सेवामा योगदान पुर्याउने उद्देश्यसहित चलचित्र ‘एलिफेन्ट इन द फग’ अस्ट्रेलियाको संघीय संसद् भवनमा प्रदर्शन गरिने भएको छ। आगामी अक्टोबर २६ मा राजधानी क्यानबेरास्थित संसद् भवनको थिएटरमा हुन लागेको यो विशेष प्रदर्शनले नेपाली चलचित्रलाई सांस्कृतिक कूटनीतिको माध्यमका रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
अभिनाशविक्रम शाह निर्देशित यो चलचित्रको प्रदर्शन अस्ट्रेलिया–नेपाल संसदीय मैत्री समूहले आयोजना गर्न लागेको हो। कार्यक्रमलाई क्यानबेरास्थित नेपाली दूतावास र फेडेरेसन अफ नेपाली कम्युनिटी एसोसिएसन अफ अस्ट्रेलिया (एफएनसीएए) ले सहयोग गरेका छन्। कार्यक्रमको व्यवस्थापन स्पिडविङ्स प्रालि अस्ट्रेलियाले गरिरहेको छ।
स्पिडविङ्सकी प्रमुख कार्यकारी अधिकृत शान्ति ढकालका अनुसार चलचित्र प्रदर्शनलाई मनोरञ्जनमा मात्र सीमित नराखी मानवीय सहयोग र दुई देशबीचको सांस्कृतिक सम्बन्ध विस्तारसँग जोडिएको छ। नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन, सामाजिक सेवाका लागि आर्थिक स्रोत सङ्कलन र नेपाल–अस्ट्रेलिया सम्बन्धलाई थप मजबुत बनाउनु कार्यक्रमका प्रमुख उद्देश्य रहेको उनले बताएकी छन्।
यस अवसरमा नेपालको प्रधानमन्त्री राहत कोष र अस्ट्रेलियाको इमर्जेन्सी एक्सन एलायन्सका लागि सहयोग सङ्कलन गरिनेछ। कार्यक्रममा सहभागी हुने दर्शक तथा अतिथिले कार्यक्रमस्थलमा राखिने क्यूआर कोड स्क्यान गरेर सहयोग गर्न सक्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।
विशेष प्रदर्शनमा अस्ट्रेलियाली संसद्का सदस्य, कूटनीतिक नियोगका प्रतिनिधि, नेपाली समुदायका अगुवा, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व सहभागी हुने अपेक्षा गरिएको छ। आयोजकका अनुसार अस्ट्रेलियाको संघीय संसद् भवनभित्र रहेको थिएटरमा प्रदर्शन हुन लागेको यो पहिलो नेपाली चलचित्र हो।
अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित ‘एलिफेन्ट इन द फग’ को क्यानबेरामा हुने प्रदर्शनपछि नोभेम्बर महिनामा अस्ट्रेलियाका प्रमुख सहरहरूमा पनि चलचित्र प्रदर्शन गर्ने तयारी गरिएको छ। यसबाट अस्ट्रेलियामा रहेका नेपाली समुदायसँगै अन्य दर्शकमाझ नेपाली चलचित्र पुर्याउने र मानवीय सहयोग अभियानलाई विस्तार गर्ने लक्ष्य राखिएको छ।
नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै सामाजिक उत्तरदायित्वसँग जोड्ने यो कार्यक्रमले नेपाली कला, संस्कृति र चलचित्र क्षेत्रको पहिचान विस्तारमा सहयोग पुग्ने विश्वास आयोजकले लिएका छन्।








