ओस्कार कलेजद्धारा १ लाख पुरस्कारसहित युवा सर्ट फिल्म फेस्टिभल घोषणा


ब्युटी न्युज नेपाल
काठमाडौँ, २४ साउन

युवा पुस्तामा चलचित्र निर्माणप्रतिको रुचि र सिर्जनशीलता बढाउने उद्देश्यले ओस्कार कलेजले चौथो ‘युवा सर्ट फिल्म फेस्टिभल’ आयोजना गर्ने भएको छ। २० वर्षमुनिका प्रतिभालाई लक्षित गर्दै आयोजना हुन लागेको फेस्टिभलका लागि सर्ट फिल्म दर्ता खुला गरिएको हो।

ओस्कार कलेज र चलचित्र विकास बोर्डको सहकार्यमा हुने प्रतियोगितामा प्रथम हुने फिल्मले १ लाख रुपैयाँ, द्वितीयले ५० हजार रुपैयाँ र तृतीय हुने फिल्मले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। आयोजकले सान्त्वना पुरस्कारको समेत व्यवस्था गरेको जनाएको छ।

प्रतियोगिताका विजेताले ओस्कार कलेजमा अध्ययन गर्न चाहेमा ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराइने कलेजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यसले युवा फिल्मकर्मीलाई प्रोत्साहन गर्नुका साथै चलचित्र शिक्षातर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ।

प्रतियोगितामा सहभागी हुने सर्ट फिल्म कम्तीमा ८ मिनेटदेखि बढीमा १५ मिनेटसम्मको हुनुपर्नेछ। इच्छुक प्रतियोगीले आफ्नो फिल्म भदौ ८ गतेसम्म दर्ता गराइसक्नुपर्नेछ।

प्रतियोगिताका लागि प्राप्त फिल्ममध्ये छनोट भएका उत्कृष्ट सर्ट फिल्म भदौ १५ गते प्रदर्शन गरिनेछ। सोही दिन विजेताको घोषणा तथा पुरस्कार वितरण समारोह आयोजना गरिने आयोजकले जनाएको छ।

ओस्कार कलेजका प्राध्यापक रामराजा दहालका अनुसार युवा पुस्तालाई फिल्म निर्माणमा सक्रिय बनाउन तथा नयाँ प्रतिभाको पहिचान गर्ने उद्देश्यले यो प्रतियोगिता हरेक वर्ष आयोजना हुँदै आएको छ। उनका अनुसार नेपालमा युवालाई लक्षित गरी आयोजना हुने सर्ट फिल्म प्रतियोगितामध्ये यो महत्वपूर्ण प्लेटफर्मका रूपमा स्थापित हुँदै गएको छ। फेस्टिभल हरेक वर्ष ओस्कार कलेज परिसरमा आयोजना हुँदै आएको छ।