ब्युटी न्युज नेपाल
काठमाडौँ, १२ असोज
गीतसंगीत, चलचित्र, कला, साहित्य र पत्रकारिता क्षेत्रका स्रष्टा तथा कलाकारलाई एउटै मञ्चमा सम्मान गर्दै ‘यमन ग्लोबल म्युजिक अवार्ड–२०८३’ को पहिलो संस्करण सम्पन्न भएको छ। यमन इन्टरटेन्मेन्ट प्रालिको आयोजनामा नयाँबानेश्वरस्थित आइएनआइ सिनेमाहलमा आयोजित समारोहमा विभिन्न विधाका कलाकार, सर्जक, प्राविधिक तथा सञ्चारकर्मीलाई अवार्ड र सम्मान प्रदान गरिएको हो।
सम्बाहाम्फे प्रपर्टी डेभलपर्स प्रालिका अध्यक्ष पूर्णबहादुर सम्बाहाम्फेको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा सुश्मा प्रोडक्सन ग्लोबल, सिक्किमकी सञ्चालक सुश्मा गुरुङ विशेष अतिथिका रूपमा सहभागी थिइन्। कार्यक्रममा वरिष्ठ गायिका तारा थापालाई ‘दीर्घसाधना सम्मान’ तथा महाकाव्यकार खेमनाथ दाहाललाई ‘महाकाव्य साधना सम्मान’ प्रदान गरियो।
कार्यक्रम संयोजक तारावीर पाण्डेका अनुसार नेपाली गीतसंगीत क्षेत्रमा लामो समयदेखि पुर्याएको योगदानको कदरस्वरूप तारा थापालाई सम्मान गरिएको हो। यस्तै, वरिष्ठ गीतकार अम्बिका गुरुङ, गायिका मिलन नेवार, राजनराज सिवाकोटी, फुर्बा खाण्डु गुरुङ, प्रेमचन्द्र गुरुङ, रिकि लेप्चा, सविना भण्डारी, खिमानन्द आचार्य, शीतल कात्मविनी, शिव पराजुली, सुशील नेपाल, तुलसी बास्कोटा, शर्मिला गौतम र सोमराज तामाङलगायतलाई विशेष सम्मान प्रदान गरियो।
समारोहमा पल शाह, प्रकाश सपुत, अर्जुन पोख्रेल, शिव परियार, डिपी खनाल, शंकर थापा ‘स्माइल’, प्रताप दास, रचना रिमाल, बबिना भट्टराई, सारिका घिमिरे, ईश्वरी बराललगायतका कलाकार तथा सर्जकले विभिन्न विधामा अवार्ड प्राप्त गरे। संगीत, चलचित्र, कला र प्राविधिक विधाका नयाँ तथा स्थापित पुस्तालाई समेटिएको आयोजकले जनाएको छ। पत्रकारिता विधातर्फ स्वस्तिका पन्थी र ई–हिमालय टाइम्स दैनिकका सम्पादक सन्दीप पौड्याललाई पत्रकारिता अवार्ड प्रदान गरिएको थियो।
अवार्ड समारोहकै अवसरमा सिक्किमका गायक छविन गुरुङको नयाँ गीत ‘आमा’ पनि सार्वजनिक गरियो। छविनकै शब्द तथा संगीत रहेको गीतको भिडियो तारावीर पाण्डेको निर्देशनमा तयार भएको हो। भिडियोमा छविन गुरुङ, कविता आले, पवित्रा आचार्य र प्रेमचन्द्र गुरुङसँगै बाल कलाकार एलेक्स खड्का र संयम कटवालको अभिनय छ। ज्ञानेन्द्र शर्मा हुमागाईंको छायांकन रहेको भिडियोको सम्पादन तथा कलर राकेश दाहालले गरेका हुन्।
यस संस्करणमा संगीतका पर्दापछाडिका प्राविधिक तथा वाद्यवादकलाई समेत अवार्ड प्रदान गरिएको थियो। तालवादनतर्फ भुवन गन्धर्व र बाँसुरीवादनतर्फ रत्न विकलाई सम्मान गरिएको आयोजकले जनाएको छ।
संयोजक तारावीर पाण्डेले विभिन्न पुस्ताका स्रष्टा तथा कलाकारलाई एउटै मञ्चमा ल्याउँदै उनीहरूको योगदानको सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले अवार्ड आयोजना गरिएको बताए। अध्यक्ष पारिजात बरालले आगामी संस्करणलाई थप व्यवस्थित र विस्तार गर्दै अन्तर्राष्ट्रियस्तरमा लैजाने योजना रहेको जानकारी दिए।






