ब्युटी न्युज नेपाल
काठमाडौँ, १२ असोज
अभिनेत्री प्रियंका कार्कीलाई आकर्षक अवतारमा प्रस्तुत गरिएको नेपाली चलचित्र ‘प्रतिवैरम्’को प्रतीक्षित आइटम गीत ‘माहोल गरम’ चार भाषामा सार्वजनिक भएको छ। चलचित्रको प्रचारलाई व्यापक बनाउने उद्देश्यले गीतलाई नेपालीसँगै हिन्दी, मैथिली र भोजपुरी भाषामा दर्शकमाझ ल्याइएको हो।
रोशन दासको निर्देशनमा तयार भएको गीतको नेपाली संस्करण ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ भने हिन्दी, मैथिली र भोजपुरी संस्करण आदर्श प्रोडक्सनमार्फत रिलिज गरिएको छ। नेपाली संस्करणमा रोशन दासको शब्द तथा मनीष अधिकारीको संगीत रहेको छ। हृतिका श्रेष्ठको स्वर रहेको गीतमा प्रियंका ‘बसन्ती’को भूमिकामा देखिएकी छन्।
हिन्दी संस्करणलाई ‘जवानी कातिल’ शीर्षक दिइएको छ। यसमा शिवानी भगतको स्वर र लभ कर्णको शब्द रहेको छ। मैथिली संस्करण ‘जवानी सेहो कातिल’ र भोजपुरी संस्करण ‘गाउँवा बा घायल’ शीर्षकमा सार्वजनिक गरिएको छ। यी दुवै संस्करणमा समीक्षा चौधरीको स्वर तथा सुमन मण्डलको शब्द रहेको छ।
गीतमा प्रियंकासँगै नवीन श्रेष्ठ, रोनी यादव, नारायण बिक र प्रदीप ढकाल देखिएका छन्। मनोरञ्जनात्मक आइटम प्रस्तुतिसँगै गीतमा चलचित्रका केही एक्सन दृश्यसमेत समेटिएको छ। विशेषगरी गीतको अन्त्यतिर अभिनेता सम्राट दासलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ। ‘प्रतिवैरम्’ सम्राटको डेब्यु चलचित्र हो।
गीतको छायांकन नितेश घतान र हरि ढकालले गरेका हुन् भने कोरियोग्राफी सुरेन्द्र बसेलको छ। कबिर ओड र पंकज महतोले सम्पादन गरेको गीतमा समीर मियाँको भिएफएक्स रहेको छ।
चलचित्रमा सम्राट दास, वीरेन्द्र सिंह कुशवाहा, आलिशा बास्तोला, सुप्रज्ञा शर्मा, नारायण बिक, आशिष डिके र रमेश बुढाथोकीलगायतको अभिनय रहेको छ।
रेज इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्र आदर्श प्रोडक्सन, सिम्पल एड मिडिया र श्रीयान इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो। हर्षकुमार यादव र सत्यराज चौलागाईं निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता बिक्की शाह, क्रिएटिभ निर्माता राकेश शाह, सह–निर्माता अनिश पोखरेल तथा एसोसिएट प्रोड्युसर रजन देवी र रीता देवी छन्।
चलचित्रको कथा तथा निर्देशन रोशन दासको हो भने पटकथा, संवाद तथा लेखनमा युवराज भट्टराई जोडिएका छन्। ‘प्रतिवैरम्’ मंसिर ४ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ। चलचित्रलाई नेसनल सिनेमा ग्रुपले वितरण गर्नेछ।






