गीतकार सङ्घको १७औँ वार्षिकोत्सवमा नीर शाहसहित ६ स्रष्टा सम्मानित


ब्युटी न्युज नेपाल
काठमाडौँ, १२ असोज

गीतकार सङ्घ नेपालले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा वरिष्ठ गीतकार तथा कलाकार नीर शाहसहित विभिन्न क्षेत्रका ६ स्रष्टा तथा पत्रकारलाई सम्मान एवं पुरस्कार प्रदान गरेको छ।  काठमाडौँमा आइतबार आयोजित ‘सम्मान तथा पुरस्कार समारोह एवं सांगीतिक कार्यक्रम’मा शाहलाई ‘अमरभावना राष्ट्रिय स्रष्टा सम्मान’बाट सम्मानित गरिएको हो।

प्रतिष्ठित गीतकार किरण खरेलको प्रमुख आतिथ्यता तथा गीतकार सङ्घ नेपालका अध्यक्ष वसन्त बित्यासी थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा शाहलाई नगद १ लाख ५१ हजार रुपैयाँसहित सम्मानपत्र, माला र दोसल्ला ओढाएर सम्मान गरियो। पाँच दशकभन्दा लामो समयदेखि नेपाली कला तथा गीत–सङ्गीत क्षेत्रमा योगदान पुर्‍याएका शाहका ‘बादल बनाई देऊ आकार बदल्न सकूँ’, ‘गहिराइमा डुब्दै नडुब’, ‘पर्खी बसेँ आउला भनी’, ‘कहिलेकाहीँ हाँस्छु धेरै नै हाँस्छु’, ‘तिमीसँग डुङ्गामा घुम्छु घुम्दै फेवाताल’, ‘खुल्दैन ताल्चा त्यो ढोकाको’, ‘हिउँभन्दा चिसो’, ‘आगोभन्दा तातो’, ‘आँखैमा कसैको तस्बिर’, ‘अर्को जुनी चाहिँदैन मलाई’, ‘प्यारी वसन्ती’ र ‘पसिनाको जलैले’ लगायत गीत चर्चित छन्।

यसै अवसरमा विदेशमा रहेर नेपाली गीत लेखनमा सक्रिय रहँदै आएकी गीतकार नीलम आङ्बुहाङ राईलाई ‘डायस्पोरा गीतकार सम्मान’ प्रदान गरियो। उनलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको हो। राईका ‘पुरानो हुँदैन माया’ र ‘पानी मिठो मेरो हजुर इलाम बजारको’ लगायत गीत चर्चित छन्।

‘विष्णु मन्सरा घले मातृभाषा गीतकार सम्मान’बाट लोहोरुङ राई भाषाका स्रष्टा नइन्द्र लोहोरुङ राई सम्मानित भए। उनलाई नगद २५ हजार २५२ रुपैयाँसहित सम्मान गरिएको थियो।

त्यस्तै, ‘हरिभक्त बुढाथोकी प्रतिभा गीतकार सम्मान–२०८२’ बाट गीतकार सुशीला पौडेल र अरुण तिवारी सम्मानित भए। नेपाली गीत लेखनमा नयाँ सम्भावनासहित निरन्तर साधना गर्दै आएका दुवैलाई जनही नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको हो।

यसै वर्षदेखि सुरु गरिएको ‘गीतकार सङ्घ नेपाल पत्रकारिता सम्मान–२०८२’बाट हिमालय टाइम्सका उपसम्पादक तथा वरिष्ठ पत्रकार कृष्ण भुसाल सम्मानित भए। उनलाई नगद ५ हजार ५५५ रुपैयाँसहित सम्मान गरिएको थियो।

कार्यक्रममा ‘जगतमर्दन थापा वर्ष गीति पुस्तक पुरस्कार–२०८२’ कल्पना खरेलको कृति ‘नन्दिनी’ र ज्ञानेन्द्र गदालको कृति ‘भोलिको आश उज्यालो प्रकाश’लाई प्रदान गरियो। दुवै कृतिलाई नगद ५७ हजार रुपैयाँसहित पुरस्कृत गरिएको हो।

त्यस्तै, ‘भैरवनाथ रिमाल (कदम) वर्ष गीत पुरस्कार’बाट गीतकार डम्बर याक्सोको ‘म तिम्रो नजरमा’ र प्रबल विष्टको ‘भुल्न सकिनँ’ गीत पुरस्कृत भए। दुवैलाई नगद ५७ हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिएको थियो।

समारोहको अर्को आकर्षण अग्रज गीतकारका कालजयी गीतहरूको सांगीतिक प्रस्तुति रह्यो। दश अग्रज गीतकारका चर्चित गीतहरू विभिन्न गायक–गायिकाले प्रत्यक्ष प्रस्तुत गरेका थिए। सम्मानित व्यक्तित्व नीर शाहको रचना ‘गहिराइमा डुब्दै नडुब’ गायक जगदीश समालले प्रस्तुत गरे। त्यस्तै, गीतकार डा. भोला रिजालको ‘मेरो पौवा पाटीलाई’ सञ्जय तुम्रोकले प्रस्तुत गरे।

दिवंगत स्रष्टा गणेश रसिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको चर्चित गीत ‘धेरै सम्झे धेरै हुन्छ’ गायक अशोक मुकारुङले प्रस्तुत गरे। एसपी कोइरालाको चलचित्र ‘ग्रहण’को चर्चित गीत ‘धड्कनभित्र लुकाइदेऊ न’ रूपक चौधरी र बिनुषा राईले युगल रूपमा प्रस्तुत गरे। अमर बान्तुको ‘आमा’ गीत निशा देसारले तथा कवि एवं गीतकार वसन्त चौधरीको ‘मेरो प्यारो मान्छे’ माण्डवी त्रिपाठीले प्रस्तुत गरे। सङ्घका संस्थापक अध्यक्षसमेत रहेका गीतकार डा. कृष्णहरि बरालको ‘मर्ने कसैलाई रहर हुँदैन’ बालगायक प्रेम परियारको स्वरमा प्रस्तुत हुँदा दर्शकबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको थियो।

त्यसैगरी योगेन्द्रमणि दाहालको ‘बादलहरू हो’ सञ्जय तुम्रोक, चूडामणि देवकोटाको देशभक्तिपूर्ण गीत ‘तिम्रो पनि रगत’ सुमित खड्का तथा पूर्वअध्यक्ष शुभ मुकारुङको ‘तिमीले मलाई छाडी गयौ’ गणेश पराजुलीले प्रस्तुत गरेका थिए।

वरिष्ठ सङ्गीतकार अशोककुमार राईको सङ्गीत संयोजनमा १५ जना वाद्यवादकले कार्यक्रममा प्रत्यक्ष सङ्गीत दिएका थिए। कार्यक्रममा सङ्घका आजीवन सदस्यता प्राप्त गीतकारलाई प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा सङ्घका अध्यक्ष तथा सभापति वसन्त बित्यासी थापाले देशमा उत्पन्न प्राकृतिक विपत्तिका कारण कार्यक्रम केही समयपछि आयोजना गर्नुपरेको बताए।