ब्युटी न्युज नेपाल
काठमाडौँ, १२ असोज
नेपालको कला, संस्कृति र प्राकृतिक सम्पदालाई पर्यटनसँग जोड्दै विश्व पर्यटन दिवस–२०२६का अवसरमा काठमाडौँमा चित्रकला तथा फोटो प्रदर्शनी, अन्तर्क्रिया र साइकल यात्रा आयोजना गरिएको छ। प्रदेश पर्यटन कार्यालय काठमाडौँ, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय, वागमती प्रदेशको आयोजनामा भएको कार्यक्रममा कला र संस्कृतिलाई पर्यटन विकासको महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गरिएको हो।
धुम्बाराहीस्थित स्मार्ट दरबार होटलमा आयोजित प्रदर्शनी तथा अन्तर्क्रिया कार्यक्रमको उद्घाटन गर्दै वागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले पर्यटनको आधार कला र संस्कृति भएको बताए। पर्यटन व्यवसायी र संस्कृतिकर्मीबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै उनले स्थानीय कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा राज्यसहित सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखे।
प्रदर्शनीमा १५ कलाकारका २० भन्दा बढी कलाकृति राखिएका थिए। एक्सपोलर नेपाल नेटवर्क काठमाडौँको सहकार्यमा आयोजित प्रदर्शनीमा देवेन्द्र थुम्केली, एससी सुमन, केशव राज खनाल, प्रदीप अधिकारी, प्रकाश मिजार, सञ्जय प्रधान, रामनारायण महतो, बिके नरबहादुर, आवरण पौडेल, शोभा ढकाल, सिकेन्दर चौधरी (सिके), देवांशी काफ्ले र नारायण ढुङ्गानालगायत कलाकार सहभागी थिए।
कलाकारहरूले नेपाल तथा वागमती प्रदेशका सभ्यता, सम्पदा, संस्कृति, प्रकृति, जनजीवन र पर्यावरणलाई विषय बनाएर तयार पारेका चित्र तथा फोटो प्रदर्शनीमा राखेका थिए।
कार्यक्रममा मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले पर्यटन कला र संस्कृतिसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै नेपालको विविधतालाई पर्यटनमार्फत विश्वसामु पुर्याउने गरी काम भइरहेको बताए। कार्यक्रममा मन्त्रालयका सचिव जीवलाल भुसाल, अनिता निरौला, संस्कृतिविद् डा. सुदर्शनराज तिवारी, डा. अर्जुनमणि दीक्षित, सूर्यलाल प्रजापति, नेपाल पर्यटन बोर्डका सदस्य सहदेव धमला, नेपाल एसोसिएसन अफ र्याफ्टिङका पूर्वअध्यक्ष शिव अधिकारी, होटल संघ वागमती प्रदेशका अध्यक्ष रामसुन्दर बके र जलवायुविज्ञ ङमिन्द्र दाहाललगायतले धारणा राखेका थिए।
प्रदेश पर्यटन कार्यालय काठमाडौँका प्रमुख पवनकुमार पोखरेलले पर्यटनको दिगो विकासका लागि प्रकृति, संस्कृति र कलालाई सँगसँगै अघि बढाउनुपर्ने बताए। उनका अनुसार विश्व पर्यटन दिवसका अवसरमा गरिएको कार्यक्रमले कला तथा संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रदर्शनीमा सहभागी कलाकार प्रकाश मिजारले कला र पर्यटनबीचको सम्बन्धलाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीले सकारात्मक सन्देश दिएको बताए। नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष तथा कलाकार केशव राज खनालले कला र संस्कृतिमार्फत नेपालको मौलिक पहिचान विश्वसामु पुर्याउन यस्ता गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
यसै अवसरमा आइतबार बिहान पाटन दरबार क्षेत्रदेखि धुम्बाराहीसम्म साइकल यात्रासमेत गरिएको थियो। वल्र्ड साइकलिस्ट क्लब नेपालको सहकार्यमा आयोजित यात्रामा डेढ सयभन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रमको सहजीकरण प्रदेश पर्यटन कार्यालय काठमाडौँकी वरिष्ठ शाखा अधिकृत अम्बिका घिमिरेले गरेकी थिइन्।






