मौसम खुलेसँगै ‘बा : एक योद्धा’मा दर्शकको चाप बढ्यो


ब्युटी न्युज नेपाल
काठमाडौँ, ११ असोज

लगातारको वर्षाका कारण सुरुवाती दिनमा अपेक्षाअनुसार दर्शक पाउन नसकेको चलचित्र ‘बा : एक योद्धा’ले मौसम खुलेसँगै हलमा दर्शकको चाप बढाउन थालेको छ। शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्रका आइतबार मध्याह्नपछिका अधिकांश शोमा ८० प्रतिशतभन्दा बढी अकुपेन्सी देखिएको निर्माण पक्षले जनाएको छ।

कतिपय शो हाउसफुलसमेत हुन थालेपछि चलचित्रको टिम उत्साहित बनेको छ। निर्देशक तथा लेखक हरि लम्सालले मौसममा सुधार आएसँगै चलचित्रले गति लिन थालेको बताए।

“वर्षाका कारण दुई दिन केही असर पर्‍यो। तर आजबाट मौसममा सुधार देखिएसँगै हाम्रो चलचित्र हेर्न दर्शकमा देखिएको उत्साहले हामीलाई पनि उत्साहित बनाएको छ,” उनले भने।

दर्शकबाट चलचित्रले भावनात्मक रूपमा जोडेको प्रतिक्रिया पाइरहेको निर्देशक लम्सालको भनाइ छ। आफ्नै परिवार, आफन्त वा छिमेकीको जीवनमा देखे–भोगेकै घटनासँग कथा जोडिएकाले चलचित्रले दर्शकलाई भावुक बनाएको प्रतिक्रिया आइरहेको उनले बताए।

चलचित्र हेरेपछि कतिपय दर्शकले अभिभावकले आफ्ना सन्तानलाई अनिवार्य रूपमा चलचित्र देखाउनुपर्ने प्रतिक्रिया दिएको निर्माण पक्षले जनाएको छ। विशेषगरी अधिकारको खोजी गर्ने क्रममा आफ्नो दायित्व बिर्सने सन्तानका लागि ‘बा : एक योद्धा’ले परिवार र अभिभावकप्रतिको जिम्मेवारी सम्झाउने कथा प्रस्तुत गरेको निर्माता लम्सालको भनाइ छ।

‘बा : एक योद्धा’ नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाआमाले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने चुनौतीमा केन्द्रित छ। सन्तानको इच्छा पूरा गर्न अभिभावकले गर्ने संघर्षसँगै वृद्धावस्थामा उनीहरूले भोग्नुपर्ने एक्लोपन र पीडालाई पनि चलचित्रले कथामा समेटेको छ।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो। चलचित्रका निर्माता वसन्त लम्साल, कार्यकारी निर्माता अनिल बुढाथोकी, सह–निर्माता कृष्ण काफ्ले र लाइन प्रोड्युसर अर्जुन पौडेल हुन्।

चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकारको अभिनय रहेको छ।