ब्युटी न्युज नेपाल
काठमाडौँ, १३ असोज
अभिभावकले छोरीको इच्छाविपरीत जबर्जस्ती विवाह गराउँदा उत्पन्न हुने पारिवारिक समस्या र त्यसले समाजमा पार्ने प्रभावको कथामा आधारित नेपाली चलचित्र ‘अक्षरा’ आगामी शुक्रबारदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने भएको छ। विनयराज पौडेलको निर्देशनमा बनेको चलचित्र असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको हो।
चलचित्रले केन्द्रीय चलचित्र जाँच समितिबाट सर्वसाधारण सबैले हेर्न मिल्ने ‘युनिभर्सल’ (यू) प्रमाणपत्रसमेत प्राप्त गरिसकेको निर्माण पक्षले जनाएको छ।
‘क्षित बाबु प्रोडक्सन हाउस’को ब्यानरमा निर्माण भएको चलचित्रमा सुशील सिटौला र न्यान्सी खड्का मुख्य भूमिकामा छन्। उनीहरूसँगै सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारीलगायत कलाकारको अभिनय रहेको छ।
सोनी थापा (ढुङ्गाना) प्रस्तुतकर्ता रहेको चलचित्रको कथा निर्माता उग्रसेन ढुङ्गानाको हो। पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक विनयराज पौडेलले तयार पारेका हुन्।
चलचित्रमा दिपेन बस्न्यातको छायाङ्कन, गौतम खड्काको सम्पादन, रामजी लामिछानेको नृत्य निर्देशन तथा कर्णराज गिरीको सङ्गीत रहेको छ। चलचित्रको वितरण नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले गर्नेछन्।
परिवार, विवाह र सामाजिक सम्बन्धसँग जोडिएको संवेदनशील विषयलाई कथानक बनाइएको ‘अक्षरा’ले दर्शकमाझ कस्तो प्रतिक्रिया पाउने हो, त्यो भने प्रदर्शनपछि नै स्पष्ट हुनेछ।



