ब्युटी न्युज नेपाल
काठमाडौं, १२ फागुन
चलचित्र ‘महाजात्रा’ निर्माण समुहले ‘महाकमेडी यात्रा’ गर्ने भएको छ । निर्माण समुहले फागुन २१ देखि दुई चरणमा हुने जानकारी दिएको छ । निर्माता म्याक्स दीपेश खत्रीका अनुसार फिल्मका तर्फबाट अभिनेता हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेल, अभिनेत्री वर्षा राउत उक्त भ्रमणमा हुनेछन ।
‘महाकमेडी यात्रा’ २१ गते पोखराबाट सुरु भई २२ गते बुटवल, २५ गते धनगढीमा हुनेछ । यसको दोस्रो चरण फागुन ३० गते विर्तामोडबाट सुरू भई १ गते इटहरी, ३ गते हेटौडा र ४ गते नारायणगढमा विभिन्न प्रस्तुती हुनेछ ।
भ्रमणमा अभिनेत्री दीपाश्री निरौला, कमेडियन सुमन कार्की, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला, प्रभात लामा, सन्तोष थापासँगै कमेडी च्याम्पियनको तेस्रो सिजनका प्रतियोगीले तयार गरेका विभिन्न प्रस्तुतीमार्फत रोड शोमा दर्शकलाई मनोरञ्जन दिनेछन् ।
‘हामीले फिल्मको प्रचारप्रसारका लागि काठमाडौँ झैँ मोफसलमा पनि उत्तिकै गतिविधि गर्ने गरेका छौँ । त्यसैले यसपटक हामीसँगै दर्शक माँझ लोकप्रिय पछिल्लो पुस्ताका कमेडियनलाई लिएर दर्शकलाई भेट्न उहाँकै सहरमा पुग्दैछौँ’, निर्माता खत्रीले भने ।
निर्देशक प्रदीप भट्टराईले लेखन तथा निर्देशनमा ‘जात्रा’ र ‘जात्रै जात्रा’ को व्यावसायिक र समीक्षात्मक सफलतापछि तयार भएको तेस्रो शृङ्खला ‘महाजात्रा’ हो । ‘जात्रा’ शृङ्खलाकै कलाकारहरू विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, राजाराम पौडेलसँगै यसपटक अभिनेता हरिवंश आचार्य थपिएका छन् ।
यसमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल सङ्गीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर, अनिल खड्का मुख्य सहायक निर्देशक रहेका छन् ।