सिक्किमको युमथाङबाट सुरु भयो ‘ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी’को छायांकन


ब्युटी न्युज नेपाल
काठमाडौँ, १० कात्तिक

गत वर्ष प्रदर्शनमा आएको नेपाली चलचित्र ‘ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी (ऊनको स्वीटर)’को छायांकन भारतको सिक्किमस्थित युमथाङ उपत्यकाबाट सुरु भएको छ। निर्देशक नवीन चौहानले स्थानीय लामा गुरुहरूको मन्त्रोच्चारणसहित शुभमुहूर्त गरेर चलचित्रको छायांकन प्रारम्भ गरेका हुन्।

चलचित्रमा विपिन कार्की, मिरुना मगर, पीयूष मिश्रा, एलेक्स पारस, परीक्षा लिम्बू, टेरिया मगर, सुरज तमु, शारदा देवी सिलवाल, भुवन सिंह राई र रुश्मा राईलगायत कलाकारको अभिनय रहनेछ।

निर्देशक चौहानले सामाजिक सञ्जालमार्फत चलचित्रको छायांकन सुरु भएको जानकारी दिएका छन्। उनका अनुसार छायांकनको पहिलो दिन अभिनेता पीयूष मिश्रा र एलेक्स पारसका दृश्य खिचिएका छन्।

छायांकन शुभारम्भका अवसरमा सिक्किम फिल्म बोर्डका अध्यक्ष टासी छिरिङ भुटिया, कल्चरल बोर्डका अध्यक्ष सञ्जय दिल्पाली राई, एडीसी, भारतीय सेनाका प्रतिनिधि तथा स्थानीय लामा गुरुहरूको उपस्थिति थियो। निर्देशक चौहानले छायांकनको सुरुवातमा प्राप्त साथ, सहयोग र आशीर्वादप्रति आभार व्यक्त गरेका छन्।

‘ऊनको स्वीटर’ले दर्शकमाझ स्थापित गरेको कथा, पात्र र भावनात्मक सम्बन्धलाई अझ फराकिलो परिवेशमा विस्तार गर्ने उद्देश्यले ‘कलेजी (ऊनको स्वीटर)’ निर्माण गर्न लागिएको निर्देशक चौहानले बताएका छन्। उनका अनुसार नयाँ चलचित्रमा काफ्ले, फूल, डम्बर र इक्ष्याका कथालाई निरन्तरता दिँदै प्रेम, जीवन र मानवीय संवेदनाका थप पक्ष प्रस्तुत गरिनेछ।

“केही कथा बाँकी छन्, केही अनुभूति अझै भन्न बाँकी छन्,” निर्देशक चौहानले भनेका छन्। नेपाल, दार्जिलिङ, सिक्किम र दिल्लीमा छायांकन गर्ने योजनासहित अघि बढेको चलचित्रले अघिल्लो भागका पात्र र कथालाई नयाँ परिवेशमा जोड्नेछ। आर्टमाण्डुको निर्माणमा बन्ने चलचित्रको लेखन तथा निर्देशन नवीन चौहानले गर्दैछन्। अभिषेक सुवेदी सहलेखक तथा प्रमुख सहायक निर्देशकका रूपमा छन् भने छायांकनको जिम्मेवारी चिन्तन राजभण्डारीले सम्हालेका छन्। चलचित्रमा कोविद बज्रको संगीत रहनेछ।

‘ऊनको स्वीटर’ले सिर्जना गरेको भावनात्मक संसारलाई नयाँ कथा र अनुभूतिसहित अगाडि बढाउन लागिएको ‘कलेजी (ऊनको स्वीटर)’को प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन।