‘जनआस्था साप्ताहिक’का सम्पादक किशोर श्रेष्ठ पक्राउ


ब्युटी न्युज नेपाल
काठमाडौँ, २७ साउन

पत्रकार तथा ‘जनआस्था साप्ताहिक’का सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुरको कुसुन्तीस्थित निवासबाट उनलाई बुधबार साँझ पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जनाएको छ ।

श्रेष्ठलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली परिचालन गरिएको थियो । प्रहरीका अनुसार उनीविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको हो ।

श्रेष्ठ लामो समयदेखि पत्रकारितामा सक्रिय छन् । उनी ‘जनआस्था साप्ताहिक’को सम्पादकका रूपमा कार्यरत छन् । स्रोतका अनुसार श्रेष्ठलाई यसअघि पनि विभिन्न विषयमा प्रहरीले पक्राउ गर्ने प्रयास गरेको थियो ।

प्रहरीले पक्राउपछि उनीमाथि लागेको आरोपबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ । यद्यपि, घटनासम्बन्धी थप विवरण र अनुसन्धानको प्रगतिबारे प्रहरीले औपचारिक रूपमा विस्तृत जानकारी सार्वजनिक गरेको छैन ।