तामाङ फिल्म फेस्टिबलमा ‘स्यामा पिन्बा’ उत्कृष्ट


ब्युटी न्युज नेपाल
काठमाडौं, ३१ जेठ

राजधानीमा सम्पन्न दुईदिने तामाङ अन्तराष्ट्रिय इन्डिपेन्डेन्ट चलचित्र महोत्सव (टिफ)मा तामाङ समुदायमा छोरी हुर्केपछि गुन्यु चोली दिने चलनमाथि बनेको छोटो फिल्म ‘स्यामा पिन्बा’लाई उत्कृष्ठ भएको छ ।

राजधानीको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा सम्पन्न महोत्सवमा देश विदेशबाट विभिन्न १८ वटा छोटा फिक्सन र डकुमेन्ट्री देखाइएको थियो ।सञ्चु थोकरद्धारा निर्दे्शित चलचित्र १६ मिनेटको थियो । सञ्चु थोकर निर्देशित १६ मिनेट लामो ‘स्यामा पिन्बा’ले तामाङ समुदायको सांस्कृतिक मौलिकता उजागर गरेको भन्दै ‘सेमरी छोरङान ग्रान्ड जुरी अवार्ड’ दिइएको हो । जयनन्द झण्डै डेढ दशक अघि जयनन्द लामाले निर्देशक गरेको पहिलो तामाङ फिल्म ‘सेमरी छोरङान’मा नामबाट दिइएको यो अवार्डमा ५० हजार रुपैंया थियो ।

वेष्ट डकुमेन्ट्री अवार्ड कमल योन्जन निर्देशित ‘मधुराजा’ जित्यो । डकुमेन्ट्रीमा ललितपुरको बुडुन्चुली गाउँमा तामाङ समुदायले मनाउने पर्वलाई उतारेको छ । काँठ क्षेत्रको मिश्रित तामाङ संस्कृतिलाई पहिलोपटक डकुमेन्ट्रीमा उतारेको भन्दै यो डकुमेन्ट्रीले २५ हजारसहितको अवार्ड जितेको छ ।

त्यस्तै उत्कृष्ट सर्ट फिल्म अवार्ड अमृतमान घिसिङको ‘क्युई’ (पानी) ले जित्दा पब्लिक च्वाइस अवार्ड ‘छ्यो पोङ’को पोल्टामा गयो । कमल योञ्जनद्धारा निदेर्शित छ्योपोङमा प्रेम गरी भागी विवाह गरेपछि छ्यो पोङ (चोरी सगुन) लाने चलनलाई उतारेको छ । स्पेशल मेन्सन अवार्ड उदय लामाको ‘म्हेन्दोमाया डकुमेन्ट्री’ले हात पारे । नुवाकोट, रसुवा, धादिङ आसपासमा गाउने म्हेन्दोमायाको ऐतिहासिक पक्षलाई निर्देशक लामाले उतारेका छन् ।

तामाङ आवाज र सेलो फाउण्डेसनले गरेको महोत्सवमा एससीआरसी, काठमाडौं महानगरपालिका लगायतको सहकार्य रहेको थियो । फेस्टिभलमा अप्रतिस्पर्धीको रुपमा अमेरिकाबाट ङिमा पाख्रिन तामाङको ‘गिफ्ट फ्रम मदर’, नेपालबाट फूलमान वलको ‘सेलफोन’ सहभागी थियो भने क्यानडाबाट ग्राब्रियल ग्रेनोटको ‘पिल्ग्रीम्स टु पाँचपोखरी’ प्रतिपस्र्धामा थिए ।
त्यस्तै इन्करेजमेन्ट अवार्डमा छोटो फिल्म ‘नोर्बु’ अब्बल बन्यो । पश्चिमी बाजालाई रुचाउदै गएको पछिल्लो पुस्तामा केही युवा आफ्नो मौलिक बाजाप्रति आकर्षित भएको यो फिल्ममा देखाइएको छ, छेडुप तामाङले निर्देशन गरेको यो फिल्मले १० हजार रुपैंया र अवार्ड पाए ।

महोत्सवमा तामाङ चलचित्र सम्बन्धि विषयगत छलफल, भिजुअल पोइट्री एवं कविता वाचन, पराम्परागत थाङ्का चित्रकला एवं मुर्ति कलाबारे अन्तरक्रिया लगायतका कार्यक्रम भएको महोत्सव अध्यक्ष विगेन्द्र वाइबाले बताए । महोत्सवको समापनमा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले राष्ट्र भाषाका चलचित्रलाई प्रोत्साहन दिन यस्ता कार्यक्रमको सघाउने बताए ।