ब्युटी न्युज नेपाल
काठमाडौँ, ५ मंसिर
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह दुईदिने भारतको राजकीय भ्रमणमा जाने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष निमन्त्रणामा प्रधानमन्त्री शाह मंसिर ६ र ७ गते भारत भ्रमणमा जान लागेका हुन्। प्रधानमन्त्री शाहको यस भ्रमणमा ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डलका साथै निजी क्षेत्रका ५२ जना व्यवसायी सहभागी हुनेछन्।
भ्रमणका क्रममा नेपाल–भारत ऊर्जा व्यापार, हवाई रुट विस्तार, रेलमार्गको विकास तथा विस्तार र नेपालमा भारतीय लगानी भित्र्याउने विषयले उच्च प्राथमिकता पाउने अपेक्षा गरिएको छ। दुई देशबीचको आर्थिक तथा कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने दृष्टिले पनि यस भ्रमणलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।
परराष्ट्र मन्त्रालय र भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको भ्रमण कार्यतालिकाअनुसार प्रधानमन्त्री शाहले भ्रमणका क्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी तथा विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गर्नेछन्।
भ्रमणको पहिलो दिन अर्थात् मंसिर ६ गते आइतबार दिउँसो १ः४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत प्रधानमन्त्री शाह काठमाडौँबाट नयाँ दिल्ली प्रस्थान गर्नेछन्। उनी दिउँसो ३ः१५ बजे नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ।
त्यसपछि साँझ ६ बजे नयाँ दिल्लीस्थित होटल ताजमहलमा भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग प्रधानमन्त्री शाहको शिष्टाचार भेटवार्ता हुनेछ।
भ्रमणको दोस्रो दिन मंसिर ७ गते सोमबार बिहान १० बजे राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत गरिनेछ। त्यसक्रममा उनलाई गार्ड अफ अनर प्रदान गरिनेछ। स्वागत कार्यक्रमपछि उनले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन्।
त्यसपछि हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ। वार्तापछि दिउँसो १२ः२५ बजे दुई देशबीच विभिन्न महत्त्वपूर्ण सहमति तथा समझदारीपत्र आदानप्रदान गरिनेछ। त्यसलगत्तै दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री मोदीले आयोजना गर्ने औपचारिक दिवाभोजमा सहभागी भएपछि प्रधानमन्त्री शाह दिउँसो ३ः१५ बजे राष्ट्रपति निवास पुगेर भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गर्नेछन्।
भ्रमणको अन्तिम दिन साँझ ४ः५० बजे प्रधानमन्त्री शाह नयाँ दिल्लीबाट स्वदेश फर्कने कार्यक्रम छ। उनी साँझ ६ः३५ बजे काठमाडौँ आइपुग्ने कार्यतालिका रहेको छ।







