ब्युटी न्युज नेपाल
काठमाडौँ, २ मंसिर
विजय बराल र अञ्जना बराइलीको प्रेम, विवाह र खुसीमा विनोद न्यौपानेको प्रवेशसँगै उत्पन्न हुने द्वन्द्व तथा त्यसले निम्त्याउने वियोग र पीडालाई समेट्दै चलचित्र ‘सिन्दुरे जात्रा’को टिजर सार्वजनिक गरिएको छ। निर्माण पक्षले यसअघि चलचित्रको गीत ‘बाँसैको सुप्लाखे’ सार्वजनिक गरिसकेको थियो। त्यसपछि मंगलबार चलचित्रको टिजर दर्शकमाझ ल्याइएको हो।
आगामी मंसिर १८ गतेदेखि प्रदर्शनमा आउने यस चलचित्रमा विजय, अञ्जना र विनोदसँगै उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोला राज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय रहेको छ।
सार्वजनिक टिजरमा चलचित्रका मुख्य तीन कलाकार विजय बराल, अञ्जना बराइली र विनोद न्यौपाने प्रस्तुत छन्। मौलिक नेपाली संस्कृति र परम्पराको झल्को दिने दृश्यबाट सुरु हुने टिजरमा विजय र अञ्जनाको प्रेम सम्बन्ध, विवाह र सुखद पारिवारिक जीवन देखाइएको छ। उनीहरूको खुसीपूर्ण सम्बन्धमा विनोद न्यौपानेको प्रवेशसँगै कथाले नयाँ मोड लिन्छ।
विनोदको प्रवेशपछि विजयको जीवनमा आउने वियोग र अञ्जनाले भोग्नुपर्ने धोका तथा पीडालाई टिजरमा भावनात्मक ढंगले प्रस्तुत गरिएको छ। प्रेम र खुसीबाट सुरु भएको कथावस्तु क्रमशः द्वन्द्व, धोका र दुःखतर्फ मोडिँदै टिजरको अन्त्य हुन्छ। गाउँले परिवेश र परम्परागत सांस्कृतिक दृश्यले चलचित्रको मौलिकतालाई समेत उजागर गरेको छ।
सरोज पौडेलको निर्देशनमा बनेको यस चलचित्रमा विजय बराल र अञ्जना बराइलीको जोडी दोस्रोपटक पर्दामा देखिन लागेको हो। यसअघि यी दुई कलाकारले नेपाली चलचित्र इतिहासकै सर्वाधिक सफल चलचित्रमध्ये एक ‘पूर्णबहादुरको सारङ्गी’मा सँगै अभिनय गरेका थिए। उक्त चलचित्रको सफलतापछि उनीहरूलाई पुनः एकसाथ पर्दामा हेर्न दर्शक उत्साहित छन्।
सबिन अधिकारी र वसन्त न्यौपानेको पटकथा तथा संवाद रहेको चलचित्रको कथा निर्देशक पौडेल स्वयंले लेखेका हुन्।सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता नेम महर्जन हुन्। राकेश खड्का र श्याम मगर सहनिर्माता तथा सुमन रञ्जित एसोसिएट निर्माता रहेका छन्। अनिश अधिकारी लाइन निर्माता र दिनेश खड्का कार्यकारी निर्माता हुन्।
चलचित्रको छायांकन पदमबहादुर श्रेष्ठ (बाबु) ले गरेका छन् भने सम्पादन सुरेन्द्र पौडेलको रहेको छ। विशाल घिमिरे क्रिएटिभ निर्देशक रहेको चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत छ। चलचित्रको वितरण नेसनल सिने ग्रुप नेपालले गर्नेछ। बिग मुभिज थिएटर पार्टनर र ओएसआर डिजिटल डिजिटल पार्टनरका रूपमा रहेका छन्।









