किन पक्राउ परे पत्रकार सालिकराम न्यौपाने, कसरी भए रिहा ?


ब्युटी न्युज नेपाल
काठमाडौँ, २ मंसिर

गृहमन्त्री सुदन गुरुङकी आमासम्बन्धी भिडियो सार्वजनिक गरेको विषयलाई लिएर पत्रकार सालिकराम न्यौपानेलाई प्रहरीले पक्राउ गरी करिब ३६ घण्टासम्म हिरासतमा राखेको खुलेको छ। परिवारलाई समेत पक्राउबारे जानकारी नदिइएको भन्दै पत्रकारिता क्षेत्रबाट विरोध र दबाब बढेपछि उनलाई चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामीसहित पदाधिकारीको रोहबरमा रिहा गरिएको छ।

चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय सदस्यसमेत रहेका न्यौपाने बुधबार बेलुका रिहा भएका हुन्। उनी प्रहरी हिरासतमा रहेको जानकारी पाएलगत्तै संघले उनको रिहाइका लागि पहल थालेको थियो। नेपाल पत्रकार महासंघले समेत यस विषयमा चासो देखाउँदै रिहाइका लागि पहल गरेको थियो।

न्यौपानेलाई प्रहरीले पाँच दिन हिरासतमा राख्न अदालतबाट अनुमति लिइसकेको अवस्थामा रिहा गरिएको हो। पक्राउ परेपछि उनले परिवारको सम्पर्क नम्बर उपलब्ध नगराएका कारण परिवारलाई तत्काल जानकारी गराउन नसकिएको प्रहरीको भनाइ थियो।

किन पक्राउ परे सालिकराम ?

केही दिनयता गृहमन्त्री सुदन गुरुङकी आमासम्बन्धी एउटा भिडियो सार्वजनिक भएपछि त्यसले चर्चा पाइरहेको छ। उक्त भिडियो सार्वजनिक गर्ने पत्रकार न्यौपानेलाई प्रहरीले पक्राउ गरेको बताइएको छ। समाचार लेखेको र भिडियो खिचेर प्रसारण गरेको विषयलाई लिएर पत्रकारलाई नियन्त्रणमा लिइएको भन्दै चलचित्र पत्रकार संघले आपत्ति जनाएको छ।

न्यौपाने बुधबार बिहान ११ बजेदेखि परिवारको सम्पर्कबाहिर थिए। उनको अवस्थाबारे जानकारी नपाएपछि परिवारले खोजी सुरु गरेको थियो। उनकी श्रीमती अस्मिता पाण्डेले श्रीमान् हराएको भन्दै प्रहरीमा खोजतलासका लागि निवेदनसमेत दिएकी थिइन्। निवेदन दिएपछि मात्रै उनलाई न्यौपाने काठमाडौँ प्रहरी परिसरको हिरासतमा रहेको जानकारी गराइएको परिवारको भनाइ छ। यस घटनाले पत्रकारको पक्राउ, हिरासतमा राखिएको अवधि र परिवारलाई जानकारी नदिइएको विषयमा गम्भीर प्रश्न उठाएको छ।

यस अघि आइजिपी दानबहादुर कार्कीको नेतृत्व प्रहरीमा रहेको बेला पत्रकार विश्वमणी सुवेदीलाई नेपाल प्रेसको कार्यलयबाटै अपहरण शैलीमा लगिएपछि पत्रकारले त्यसको ब्यापक बिरोध गरेका थिए र प्रहरीले तत्कालै उनलाई छाडेको थियो । यतिबेला दानबहादुर कार्की आईजिपीबाट बर्खास्त भएका छन् । उनको ठाउँमा सरकारले डा. मनोज केसीलाई आईजिपी बनायो । तर डा. केसीको नेतृत्वको प्रहरीले पनि पत्रकारलाई पक्राउ गरेर हिरासतमा राख्ने कार्यलाई अझै निरन्तरता दिएको छ । यसैको शिकार यति बेला पत्रकार सालिकराम भएको चलचित्र पत्रकार संघ नेपालले जनाएको छ ।अहिले प्रहरी नेतृत्व परिवर्तन भइसकेको अवस्थामा पनि पत्रकार पक्राउ पर्ने घटना दोहोरिएको भन्दै पत्रकारसम्बद्ध संस्थाहरूले चिन्ता व्यक्त गरेका छन्।

पत्रकार न्यौपानेलाई हिरासतमा राखिएको करिब ३६ घण्टाको अवधिमा भएका घटनाक्रमबारे चलचित्र पत्रकार संघ नेपालले विस्तृत विवरण सार्वजनिक गर्ने जनाएको छ। संघका महासचिव गोपीकृष्ण चापागाईंले यसबारे बिहीबार सम्पूर्ण जानकारी गराउने बताएका छन्।