गौरी मल्ल पक्राउ नाटकमा प्रहरीको भ्यान र पोशाक दुरुपयोगबारे प्रहरीले माग्यो स्पष्टिकरण


ब्युटी न्युज नेपाल
काठमाडौँ, २८ कात्तिक

चलचित्र ‘ककाकिकी’को आज भएको ट्रेलर सार्वजनिक कार्यक्रममा कलाकार गौरी मल्ल, मनोज गजुरेल र शिशिर वाङ्देलसहित निर्देशक अग्रवाललाई प्रहरीले पक्राउ गरेर प्रहरी भ्यानमा राखेको दृश्य देखाइएको थियो। उक्त प्रस्तुतिमा प्रहरीको पोशाक र भ्यान प्रयोग गरिएको विषयलाई लिएर प्रश्न उठेपछि प्रहरीले निर्माण पक्षसँग स्पष्टीकरण मागेको थियो ।
प्रहरी पोशाक र प्रहरी भ्यानको दुरुपयोग भएको समाचार मिडियामा आएपछि प्रहरीले स्पष्टीकरण मागेको हो । यसै क्रममा ट्रेलर सार्वजनिक कार्यक्रममा कलाकारहरूलाई प्रहरीले पक्राउ गरेको दृश्य वास्तविक नभई चलचित्रको प्रचारात्मक प्रस्तुतिका लागि तयार पारिएको नाटकीय दृश्य भएको निर्देशक विक्की अग्रवालले स्पष्ट पारेका छन् । प्रहरीको स्पष्टीकरण मागपछि निर्देशक अग्रवालले ‘माया इन्टरटेनमेन्ट स्टुडियो प्रा.लि.’को तर्फबाट महानगरीय प्रहरी परिसर काठमाडौंलाई लिखित जवाफ दिएका छन्।

उनले स्पष्टीकरण पत्रमा चलचित्र ‘ककाकिकी’को निर्माण, छायांकन तथा प्रचारप्रसारसँग सम्बन्धित गतिविधिका क्रममा कलाकारहरूको अभिनयमार्फत उक्त दृश्य प्रस्तुत गरिएको उल्लेख गरेका छन्। चलचित्रको कथावस्तु र प्रचारात्मक प्रस्तुतिलाई प्रभावकारी बनाउने उद्देश्यले दृश्य तयार पारिएको उनको भनाइ छ।

पत्रमा चलचित्रको कथामा समेटिएका विषयवस्तु र पात्रहरूको भूमिकालाई प्रस्तुत गर्ने क्रममा प्रहरीसँग सम्बन्धित दृश्य पनि समावेश गरिएको स्पष्ट पारिएको छ। उक्त दृश्यलाई वास्तविक प्रहरी कारबाहीका रूपमा नभई चलचित्रसँग सम्बन्धित नाटकीय प्रस्तुतिका रूपमा बुझिदिन उनले आग्रह गरेका छन्।

त्यस्तै, प्रहरी संगठन, प्रहरी कर्मचारी तथा प्रहरीको मर्यादामा आँच पु¥याउने उद्देश्य आफूहरूको नरहेको पनि उनले स्पष्टीकरणमा उल्लेख गरेका छन्। उक्त प्रस्तुतिका कारण कुनै भ्रम वा असहज परिस्थिति सिर्जना भएको भए त्यसप्रति ध्यानाकर्षण भएको जनाउँदै आगामी दिनमा यस्ता विषयमा थप संवेदनशील र सचेत रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

निर्देशक अग्रवालले प्रहरी पोशाक तथा सवारीसाधनसँग सम्बन्धित विषयमा आफ्नो धारणा लिखित रूपमा प्रस्तुत गर्दै स्पष्टीकरण पत्रको अन्त्यमा धन्यवाद दिएका छन् । यस घटनाले चलचित्रको प्रचारप्रसारका क्रममा प्रहरीको पोशाक र सवारीसाधन प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी तथा त्यसको मर्यादासम्बन्धी विषयले फेरी बहस पाउने भएका छ । जसका कारण भोलीका दिनमा अरु चलचित्रकर्मीले बास्तविक दृष्य छायांकनका लागि प्रहरीको पोशाक र भ्यान नपाउने अबस्था सृजना हुने चिन्ता चलचित्र निर्माताहरुलाई छ ।