‘हिमालयन गोल्ड’मा यार्सागुम्बा लुटपाटको कथा-धिरज राजवंशी


ब्युटी न्युज नेपाल
काठमाडौँ, २५ कात्तिक

निर्देशक धिरज राजवंशी आफ्नो डेब्यू निर्देशकीय चलचित्र ‘हिमालयन गोल्ड’मार्फत नेपाली दर्शकमाझ नयाँ कथावस्तु र फरक प्रस्तुतिका साथ आउँदैछन्। आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने यस चलचित्रले हिमाली क्षेत्रमा यार्सागुम्बा संकलनका क्रममा हुने लुटपाट, संघर्ष, अस्तित्वको लडाइँ र विश्वासघातको कथा प्रस्तुत गर्नेछ। विशेषगरी सन् १९९० को दशकको परिवेशमा आधारित यो चलचित्रलाई निर्देशक राजवंशीले नेपाली चलचित्रमा कमै उठाइएको विषयवस्तुका रूपमा प्रस्तुत गरेका छन्।

अमेरिकाको लसएन्जल्समा फिल्म निर्देशन तथा निर्माणसम्बन्धी अध्ययन गरेका धिरज नेपाल फर्किएपछि चलचित्र ‘खुस्मा’मा चिफ असिस्टेन्ट डाइरेक्टरका रूपमा काम गरेका थिए। सोही चलचित्रको छायांकनका लागि रुकुम पुगेपछि ‘हिमालयन गोल्ड’को कथा फेला परेको उनले बताए।

‘खुस्मा’को छायांकन सकेपछि रुकुममा उत्कृष्ट यार्सागुम्बा पाइने जानकारी पाएपछि उनी स्थानीयसँगै घोडा चढेर यार्सागुम्बा संकलन गर्ने क्षेत्रमा पुगेका थिए। त्यहाँ यार्सागुम्बा संकलन गर्न जाने मानिसमाथि हुने लुटपाट, डोल्पा, रुकुम र मनाङका मानिसबीचको सम्बन्ध तथा सुरक्षाको अभावमा स्थानीयले भोग्नुपरेका समस्याबारे उनले प्रत्यक्ष जानकारी लिने अवसर पाए। त्यही अनुभवले उनलाई चलचित्रको कथा तयार गर्न प्रेरित गर्‍यो।

निर्देशक राजवंशीका अनुसार चलचित्रमा यार्सागुम्बा संकलनका लागि हिमाली क्षेत्रमा पुग्ने सर्वसाधारण कसरी लुटेराको निशानामा पर्थे भन्ने विषयलाई मुख्य रूपमा उठाइएको छ। यसका लागि उनले झन्डै डेढ वर्ष कथा तथा पटकथा विकासमा खर्चिएका थिए। छायांकनअघि चारपटक मुस्ताङ पुगेर अध्ययन र स्क्रिप्ट लेखनसमेत गरेका थिए।

सुरुमा डोल्पामै छायांकन गर्ने योजना बनाए पनि बाटो, भौतिक सुविधा र उत्पादन खर्चका कारण मुस्ताङ रोजिएको उनले बताए। तर, चलचित्रको छायांकन भने समुद्री सतहबाट ४ हजार ८ सय मिटरभन्दा माथिका स्थानमा समेत गरिएको छ। लोमान्थाङ र त्यसभन्दा माथिको टकमार क्षेत्रमा पनि छायांकन गरिएको छ। निर्देशकको दाबीअनुसार लोमान्थाङमा व्यावसायिक रूपमा छायांकन गरिएको चलचित्रमध्ये यो पहिलो हुन सक्छ।

चलचित्रमा परीक्षा लिम्बू मुख्य भूमिकामा छिन्। ‘ऊनको स्वीटर’मा उनको अभिनय देखेपछि प्रभावित भएका धिरजले छायांकनभन्दा छ महिनाअघि नै उनलाई चलचित्रको प्रारम्भिक पटकथा दिएका थिए। परीक्षाले कथा मन पराएपछि उनलाई अनुबन्ध गरिएको हो। चलचित्रमा चारजना लुटेराको समूह देखाइएको छ। उक्त समूहका विभिन्न भूमिकामा कर्मा शाक्य, सजन थापा मगर र सुनिल थापासहितका कलाकार छन्। मेनुका प्रधान, राहुल एन. मुखिया, अङ्कित खड्का, सुनील तामाङ, तेन्जिङ ठाकुरी, सबिता अधिकारी र ऋषिकेश बस्यालको पनि अभिनय रहेको छ।

निर्देशकले चलचित्रको मुख्य कथालाई संघर्षशील युवतीको प्रतिशोधको यात्राका रूपमा व्याख्या गरेका छन्। चारजना लुटेराले यार्सागुम्बा संकलन गर्ने मानिसलाई लुट्दै जाँदा परीक्षाले निर्वाह गरेको पात्रको परिवारसमेत त्यसको चपेटामा पर्छ। त्यसपछि सुरु हुने संघर्ष र बदला चलचित्रको मुख्य आकर्षण रहेको उनको भनाइ छ।

हिमाली क्षेत्रमा छायांकन गर्नु प्राविधिक तथा शारीरिक रूपमा चुनौतीपूर्ण भए पनि निर्माण टोलीले पूर्वतयारी गरेको थियो। उच्च हिमाली क्षेत्रको अक्सिजनको मात्रा नियमित जाँच गर्ने व्यवस्था गरिएको थियो। धिरजका अनुसार जाडो व्यवस्थापन भने सबैभन्दा कठिन पक्ष बनेको थियो।

‘हिमालयन गोल्ड’लाई निर्देशकले व्यावसायिक चलचित्रकै रूपमा परिभाषित गरेका छन्। तर, नेपाली चलचित्रमा प्रायः दोहोरिने कथाभन्दा फरक विषयवस्तु र प्रस्तुतिमा आफूले जोखिम लिएको उनको भनाइ छ। वैदेशिक रोजगारीजस्ता विषयमा पनि चलचित्र बनाउन सकिने भए पनि पहिले नै धेरैपटक प्रस्तुत भइसकेको कथाभन्दा नयाँ विषय रोजेको उनले बताए।

लोमान्थाङ र टकमार क्षेत्रको सुन्दरता, स्थानीयको जीवनशैली तथा संघर्षलाई चलचित्रमा समेटिएको छ। छायांकनका क्रममा स्थानीय बासिन्दा र निकायबाट प्राप्त सहयोगप्रति पनि निर्देशकले आभार व्यक्त गरेका छन्।

अ ह्वाइट एलिफेन्ट मोसन पिक्चरको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता मीनबहादुर भाम हुन्। लाइन प्रोड्युसर शैलेन्द्र डी. कार्की, सहनिर्माता सुयश ज्ञवाली र कार्यकारी निर्माता राजु राजवंशी रहेका छन्। निर्देशक राजवंशीकै कथा रहेको चलचित्रको पटकथा दीपेन्द्र गौचन र धिरज राजवंशीले तयार पारेका हुन्। विशिष्ठ प्रधानको छायांकन, निमेश श्रेष्ठको सम्पादन तथा सजल लोप्चन र करुण थापाको भिएफएक्स रहेको छ।

चलचित्रको अर्को विशेष पक्ष दिग्गज अभिनेता सुनिल थापाको अभिनय हो। यो उनको अभिनय रहेको अन्तिम चलचित्र भएको निर्माण पक्षले जनाएको छ। यसले पनि ‘हिमालयन गोल्ड’लाई दर्शकमाझ विशेष चासोको विषय बनाएको छ।

अन्तर्राष्ट्रिय बजारलाई समेत लक्षित गरिएको चलचित्रलाई भारतमा प्रतिष्ठित वितरण कम्पनी एए फिल्म्सले प्रदर्शन गर्ने भएको छ। यस कम्पनीले ‘बाहुबली’, ‘आरआरआर’ र ‘केजीएफ’जस्ता चर्चित चलचित्र वितरण गरिसकेको छ। मध्यपूर्वमा फार्स फिल्मको मोसन पिक्चर्स र नेपालमा एप्पल इन्टरटेनमेन्टले वितरणको जिम्मेवारी लिएका छन्।

नेपाली हिमाली भूगोल, यार्सागुम्बाको अर्थतन्त्र र स्थानीय समुदायको संघर्षलाई थ्रिलर शैलीमा प्रस्तुत गर्न खोजिएको ‘हिमालयन गोल्ड’ले मंसिर ४ गतेदेखि दर्शकको प्रतिक्रिया कस्तो पाउने हो, त्यो भने प्रदर्शनपछि नै थाहा हुनेछ।