गौरी मल्ल पक्राउ दृश्य भाइरलसँगै प्रचार शैलीको सर्वत्र आलोचना


रञ्जना कम्प्लेक्समा किनमेल गर्न पुगेका तथा सडकमा हिँडिरहेका सर्वसाधारणले अभिनेत्री मल्ललाई प्रहरीले पक्राउ गरेको दृश्य मोबाइलमा कैद गरेका थिए। पक्राउ पर्नुको कारण नखुलेपछि उनीहरूले सामाजिक सञ्जालमा विभिन्न जिज्ञासासहित भिडियो सार्वजनिक गरे। केही समयमै उक्त दृश्य भाइरल बन्यो।

………………………………………………………………………………………………………………………………………..

ब्युटी न्युज नेपाल
काठमाडौँ, २८ कात्तिक

शनिबार दिउँसो अभिनेत्री गौरी मल्ललाई प्रहरीले पक्राउ गरेर भ्यानमा राख्दै गरेको एउटा दृश्य सामाजिक सञ्जालमा तीव्र गतिमा फैलियो। काठमाडौँको न्युरोडस्थित रञ्जना कम्प्लेक्स अगाडि खिचिएको उक्त दृश्यमा दुई महिला प्रहरीले गौरी मल्ललाई नियन्त्रणमा लिएर प्रहरी भ्यानमा राखेको देखिन्छ। तर, वास्तविक पक्राउ नभई चलचित्र ‘ककाकिकी’को प्रचारका लागि खिचिएको दृश्य भएको खुलेपछि निर्माण टिमको प्रचार शैलीको सर्वत्र आलोचना भइरहेको छ।

रञ्जना कम्प्लेक्समा किनमेल गर्न पुगेका तथा सडकमा हिँडिरहेका सर्वसाधारणले अभिनेत्री मल्ललाई प्रहरीले पक्राउ गरेको दृश्य मोबाइलमा कैद गरेका थिए। पक्राउ पर्नुको कारण नखुलेपछि उनीहरूले सामाजिक सञ्जालमा विभिन्न जिज्ञासासहित भिडियो सार्वजनिक गरे। केही समयमै उक्त दृश्य भाइरल बन्यो। चलचित्रको प्रचारका लागि गरिएको दृश्य हो भन्ने जानकारी नपाएका सर्वसाधारणले वास्तविक पक्राउ ठानेर सामाजिक सञ्जालमा फैलाए।

प्रहरीको पोसाकमा रहेका व्यक्तिहरूलाई अभिनेत्री मल्ललाई किन पक्राउ गरिएको हो भनेर सर्वसाधारणले जिज्ञासा राख्दा उनीहरूले उल्टै चुप लाग्न भनेको दृश्यसमेत सार्वजनिक भिडियोमा देखिन्छ। यसले घटनालाई थप रहस्यमय बनाउनुका साथै सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया उत्पन्न गर्‍यो।

चलचित्रको प्रचारका लागि अपनाइएको यो शैलीले सकारात्मक चर्चा पाउनुको सट्टा निर्माण टिमलाई आलोचनाको सामना गर्नुपरेको छ। गौरी मल्ल पक्राउ परेको समाचार भाइरल भएको केही समयमै चलचित्रका कलाकार मनोज गजुरेलले उनी पक्राउ परेको नभई चलचित्रको छायांकन तथा प्रचारका क्रममा तयार पारिएको दृश्य भएको स्पष्ट पार्नुपरेको थियो। तर, त्यसपछि पनि सामाजिक सञ्जालमा निर्माण टिमको शैलीप्रति असन्तुष्टि व्यक्त गर्ने क्रम रोकिएको छैन। कतिपय दर्शकले सर्वसाधारणलाई झुक्याएर चर्चा बटुल्ने प्रयास गरेको भन्दै कलाकारहरूलाई समेत प्रश्न गरेका छन्।

के थियो वास्तविक घटना ?

शनिबार दिउँसो रञ्जना कम्प्लेक्सको पाँचौँ तलामा रहेको रञ्जना सिनेप्लेक्समा चलचित्र ‘ककाकिकी’को ट्रेलर सार्वजनिक कार्यक्रम आयोजना गरिएको थियो। ट्रेलर सार्वजनिकपछि सञ्चारकर्मीसँगको अन्तरक्रिया सकिँदै गर्दा प्रहरीको पोसाकमा आएका करिब पाँच जनाले निर्देशक बिक्की अग्रवाल, कलाकार शिशिर वाङ्देल र गौरी मल्ललाई नियन्त्रणमा लिएको अभिनय गरेका थिए।

कार्यक्रमस्थलबाट उनीहरूलाई बाहिर निकालेर प्रहरी भ्यानसम्म पुर्‍याइएको थियो। चलचित्रको दृश्यका रूपमा तयार पारिएको उक्त गतिविधि हलभित्र सीमित नरही सार्वजनिक सडकसम्म पुगेपछि सर्वसाधारणले वास्तविक घटना ठानेर भिडियो खिचेका थिए।

निर्माण टिमले त्यही समयमा यो चलचित्रको प्रचारका लागि गरिएको दृश्य हो भनेर स्पष्ट पारेको भए सर्वसाधारणमा भ्रम फैलिने अवस्था आउने थिएन। तर, घटनाको वास्तविकता नखुलाउँदा सामाजिक सञ्जालमा अभिनेत्री गौरी मल्ल पक्राउ परेको भन्दै समाचार र भिडियो फैलिएका थिए। अहिले यही प्रचार शैलीलाई लिएर चलचित्रकर्मी तथा दर्शकले प्रश्न उठाइरहेका छन्।

चलचित्रकर्मीबाटै आलोचना

यो घटनाप्रति चलचित्र निर्देशक दीपेन्द्र के खनालले दुःख व्यक्त गरेका छन्। उनले आफ्नो फेसबुकमा ‘गौरी मल्ल पक्राउ रे, यो किसिमको पब्लिसिटी चाहिँ नगरेको भए हुन्थ्यो। दुःख लाग्यो’ भन्दै असन्तुष्टि जनाएका छन्।

त्यस्तै, नेपाल चलचित्र कलाकार संघका पूर्वअध्यक्ष तथा वरिष्ठ कलाकार रविन्द्र खड्काले पनि यस्तो प्रचार शैलीप्रति व्यङ्ग्य गरेका छन्। उनले चलचित्र राम्रो बनाउन दिमाग लगाउने र मेहनत गर्नेभन्दा पनि चलचित्र चलाउने नाममा अनेक खेल खेल्नुपर्ने अवस्था आएको भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका छन्।

चलचित्र पत्रकार प्रदीप कार्कीले पनि ‘फिल्म फन्डा होइन, कन्टेन्टले चल्छ, कौन सम्झाए’ भन्दै आफ्नो धारणा सार्वजनिक गरेका छन्।

अभिनेता तथा जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्ष वसन्तराज रिजालले अभिनेत्री गौरी मल्ल पक्राउ परेको भन्दै गरिएको प्रचारबाजीमाथि प्रश्न उठाएका छन्। उनले यस्तो नाटकीय प्रचारले चलचित्र चल्छ भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका छन्।

यस्तै यही प्रकरणलाई ब्यँग्य गर्दै चलचित्र निर्माता एवम् निर्देशक सन्तोष सेनले फेसबुकमा यस्तो स्टाटस लेखेका छन्,‘उता इन एन अस् ‘द्रौपदी’ भनेर उत्तानो परे। फेरि यता कलाकार पक्राउ परे भन्ने नक्कली फण्डा आएछ।। दर्शकलाई मूर्ख बनाउने खेल बन्द गरौँ है। प्रचारको नाममा जे पायो त्यही नगरौँ। अलिकति विचार गरौँ ।’

त्यस्तै, इन्जिनियर प्रकाश अर्यालले पनि चलचित्र चलाउनका लागि यस्तो अवस्था सिर्जना गर्नुपर्ने भन्दै व्यङ्ग्य गरेका छन्।

यसरी चलचित्रकर्मी र सर्वसाधारणबाटै आलोचना भएपछि ‘ककाकिकी’को प्रचार अभियानले अपेक्षित सकारात्मक चर्चा पाउन सकेको देखिँदैन। दर्शकले प्रचारका नाममा भ्रम फैलाउनुभन्दा चलचित्रको विषयवस्तु र गुणस्तरमा ध्यान दिन निर्माण टिमलाई सुझाव दिएका छन्।

फेरि दोहोरियो ‘पाँच पाण्डव’को प्रचार प्रकरण

चलचित्रको प्रचारका क्रममा विवाद र भ्रम सिर्जना भएको यो पहिलो घटना भने होइन। गत साता प्रदर्शनमा आएको चलचित्र ‘पाँच पाण्डव’को प्रचारका क्रममा पनि यस्तै परिस्थिति सिर्जना भएको थियो।

चलचित्र प्रदर्शन हुनुभन्दा दुई दिनअघि निर्देशकले आफ्नो चलचित्र रोक्न गृह मन्त्रालयबाट सञ्चार मन्त्रालयमा फोन आएको र चलचित्र प्रदर्शन रोक्ने विषयमा छलफल गर्न आफूहरूलाई मन्त्रालय बोलाइएको भन्दै केही सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएका थिए। त्यसपछि चलचित्रको प्रदर्शन सरकारले रोक्न लागेको भन्दै समाचार फैलिएका थिए।

तर, वास्तविकता भने फरक थियो। चलचित्र रोक्न माग गर्दै हिन्दुवादी एउटा समूहले सञ्चार मन्त्रालयमा निवेदन दिएको र सोही निवेदनका विषयमा छलफल गर्न मन्त्रालयको श्रव्यदृश्य शाखाले निर्माण पक्षलाई बोलाएको थियो। उक्त चलचित्रलाई मन्त्रालयमा बोलाउनुअघि नै सेन्सर पाससमेत गरिसकिएको थियो।

यद्यपि, चलचित्रको प्रदर्शन रोकिएको भन्ने समाचार व्यापक रूपमा फैलिँदा निर्माण पक्षले नै चलचित्रको प्रदर्शन नरोकिने भन्दै स्पष्टीकरण दिनुपरेको थियो। प्रदर्शन रोकिएको भ्रमका कारण दर्शकमा अन्योल सिर्जना भएको र त्यसले चलचित्रको व्यापारमा समेत असर पारेको निर्माण पक्षको भनाइ थियो।

यी दुई घटनाले चलचित्रको प्रचारका लागि अपनाइने शैली कति संवेदनशील हुनुपर्छ भन्ने प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमा भाइरल हुनु मात्रै प्रचारको सफलता होइन। गलत सूचना, भ्रम र नकारात्मक प्रतिक्रियाले चलचित्रप्रति दर्शकको विश्वास घटाउन सक्छ। त्यसैले चलचित्रको प्रचार गर्दा दर्शकलाई आकर्षित गर्ने नाममा वास्तविक घटनाजस्तो देखिने गतिविधि गर्नुभन्दा विषयवस्तु, प्रस्तुति र गुणस्तरलाई प्राथमिकता दिनुपर्ने देखिन्छ।

तस्बिर : ब्युटी न्युज नेपाल