ककाकिकीको ट्रेलरमा गाउँलेको बैंक लुट्ने योजनाको कथा


ब्युटी न्युज नेपाल
काठमाडौँ, २८ कात्तिक

हास्यप्रधान नेपाली चलचित्र ‘ककाकिकी’को ट्रेलर सार्वजनिक गरिएको छ। आगामी मंसिर ११ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको ट्रेलर शनिबार काठमाडौँको न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो।

सार्वजनिक ट्रेलरमा चलचित्रको मुख्य कथावस्तु र प्रमुख पात्रहरूलाई समेटिएको छ। ट्रेलरअनुसार कुलेबारी गाउँका बासिन्दा गाउँमा अस्पताल निर्माण गर्ने योजनामा जुटेका छन्। गाउँमा राम्रो अस्पतालको अभावले मानिसहरु भटाभट मर्न थालेपछि सबै त्रसित हुन्छन् । उपचारको लागि राम्रो अस्पताल गाउँमै बनाउने भनेर उनीहरु अस्पताल निर्माणको लागि बैंक लुट्न तयार हुन्छन् । गाउँको सामाजिक परिवेश, सामूहिक प्रयास र हास्य परिस्थितिलाई चलचित्रले मुख्य विषय बनाएको ट्रेलरबाट बुझ्न सकिन्छ।

ट्रेलरमा तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी, शिशिर वाङ्देल, दिया मास्के र मनोज गजुरेललगायत कलाकारलाई देख्न सकिन्छ। ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेत्री गौरी मल्लले पछिल्लो समय निर्माण भइरहेका चलचित्रभन्दा केही फरक विषयवस्तु प्रस्तुत गर्ने प्रयास ‘ककाकिकी’को टिमले गरेको बताइन्।

कलाकार शिशिर वाङ्देलले युवा जोश र उत्साहले भरिएको निर्माण टिमसँग काम गर्दाको अनुभव राम्रो रहेको सुनाए। त्यस्तै, हास्यकलाकार मनोज गजुरेलले लामो समयपछि पुनः चलचित्रमा काम गर्न पाएकोमा खुसी व्यक्त गर्दै ‘ककाकिकी’ आफ्नो दोस्रो चलचित्र भएको जानकारी दिए।

कार्यक्रममा निर्देशक बिक्की अग्रवालले नेपाली दर्शकको रुचि र स्वादलाई ध्यानमा राखेर चलचित्र निर्माण गरिएको बताए। चलचित्रको टिजर तथा ट्रेलर सम्पादनसमेत आफूले नै गरेको जानकारी दिँदै उनले चलचित्रले राम्रो वा नराम्रो जस्तोसुकै प्रतिक्रिया पाए पनि त्यसको जिम्मेवारी आफूले लिने स्पष्ट पारे।

यसअघि भदौ १९ गते प्रदर्शन गर्ने तयारी गरिएको चलचित्रलाई देशमा आएको बाढीपहिरोका कारण प्रदर्शन सारिएको थियो। बाढीपहिरोले ठूलो जनधनको क्षति पुर्‍याएका बेला दर्शकलाई हँसाउनेभन्दा पनि पीडितप्रति संवेदनशील हुनुपर्ने अवस्था रहेको निष्कर्षसहित निर्माण टिमले प्रदर्शन मिति परिवर्तन गरेको थियो। सोहीअनुसार चलचित्र अब मंसिर ११ गतेदेखि प्रदर्शनमा आउने भएको हो।

बिक्की अग्रवाल र श्रद्धा प्रसाईंको संयुक्त निर्देशनमा बनेको चलचित्रमा प्रकाश घिमिरे, माउत्से गुरुङ, सुवास गजुरेल, रेअर राई, खड्गबहादुर पुन मगर (खबपु), पवन खतिवडा (म्याकुरी), मुकुन्द मैनाली, रामबाबु रेग्मी, सीडी विजय अधिकारी, सरोज भण्डारी, सुजना श्रेष्ठ, विश्वास तिमल्सिना (बीटी कान्छा), एलिसा भोग, सुवर्ण थापा र कमल देवकोटालगायत कलाकारको पनि अभिनय रहेको छ।

चलचित्रको कथा तथा पटकथा निर्देशक बिक्की अग्रवाल, सरोज भण्डारी र विकास अर्यालले तयार पारेका हुन्। श्रद्धा प्रसाईं र सुमित्रा थापा निर्माता रहेको चलचित्रको कन्सेप्ट सुमन अग्रवालको हो। त्यस्तै, विश्वास तिमल्सिना (बीटी कान्छा)ले स्क्रिप्ट डक्टरका रूपमा काम गरेका छन्। चलचित्रको छायांकन निर्देशक सुदीप बरालले गरेका छन्। प्रोडक्सन हेड अरुण रेग्मी रहेका छन्। चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ भने अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज इन्टरनेसनलसँग रहेको छ।