रिलिज भयो ‘बाटुलो जून’, ‘रामायण’को तुलनामा आधाभन्दा कम शो


ब्युटी न्युज नेपाल
काठमाडौँ, २६ कात्तिक

अभिनेता तथा निर्माता भुवन केसीको महत्वाकांक्षी चलचित्र ‘बाटुलो जून’ बिहीबारदेखि नेपालका चलचित्र घरमा प्रदर्शनमा आएको छ । तर, चलचित्र प्रदर्शनमा आएसँगै यसले बलिउड चलचित्र ‘रामायण : राइज अफ अ लेजेन्ड’सँग शो बाँडफाँटमा कडा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था देखिएको छ । एक सातादेखि नेपाली हलमा दबदबा कायम राखेको ‘रामायण’ले दोस्रो सातामा पनि नेपाली चलचित्रलाई चुनौती दिइरहेको छ ।

नेपालमा पहिलो सातामै १० करोड रुपैयाँभन्दा बढी व्यापार गरेको ‘रामायण’ अहिले अन्य चलचित्रका लागि ठूलो चुनौती बनेको छ । यसको प्रभाव दसैँमा उत्साहजनक व्यापार गरेको दयाहाङ राई अभिनीत ‘कबड्डी ५’मा समेत परेको देखिन्छ । चलचित्रले पछिल्लो साता करिब डेढ करोड रुपैयाँको मात्र व्यापार गरेको थियो । गत सातादेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘पाँच पाण्डव’ले पनि बक्स अफिसमा अपेक्षाअनुसार व्यापार गर्न सकेको छैन ।

‘रामायण’लाई चुनौती दिने नेपाली चलचित्रका रूपमा ‘बाटुलो जून’लाई हेरिएको थियो । तर, प्रदर्शनको पहिलो दिनकै शो बाँडफाँट हेर्दा ‘रामायण’ले ‘बाटुलो जून’लाई दोब्बरभन्दा बढी शोमा पछि पारेको छ ।

काठमाडौँ उपत्यकामा क्यूएफएक्स चेनअन्तर्गत बिहीबार ‘बाटुलो जून’ले ३२ शो पाउँदा ‘रामायण’ले ६७ शो पाएको छ । अर्थात्, अनमोल केसी अभिनीत ‘बाटुलो जून’ले ‘रामायण’को तुलनामा आधाभन्दा कम शो पाएको छ । देशव्यापी रूपमा पनि दोस्रो सातामा ‘रामायण’ले ४२० भन्दा बढी शो पाउँदा ‘बाटुलो जून’का लागि करिब २०० शो उपलब्ध गराइएको छ ।

नेपालमा सुपरस्टारको ट्याग पाएका अनमोल केसीको चलचित्रले बलिउडको दोस्रो साताको चलचित्रसँगै शो बाँडफाँटमा समेत प्रतिस्पर्धा गर्नुपर्ने अवस्थाले नेपाली चलचित्रको बजारमा विदेशी चलचित्रको प्रभाव कति बलियो छ भन्ने देखाएको छ । आगामी ४ डिसेम्बरमा सलमान खानको चलचित्र ‘मातृभूमि’ प्रदर्शनमा आउने तयारीमा रहेकाले त्यसअघि नेपाली हलमा ‘रामायण’को दबदबा कायमै रहने सम्भावना देखिन्छ ।

यद्यपि, ‘बाटुलो जून’को प्रारम्भिक अक्युपेन्सी भने उत्साहजनक देखिएको छ । काठमाडौँ उपत्यकाका क्यूएफएक्स, बिग मुभिज, एफक्यूब, कीर्तिपुर सिनेप्लेक्स र वान सिनेमाजसहित बिर्तामोड, दमक, धरान, इटहरी, चितवन, नेपालगन्ज, पोखरा, बुटवल र दमौलीलगायतका सहरका चलचित्र घरमा फिल्मका अधिकांश शोमा दर्शकको राम्रो उपस्थिति देखिएको छ ।

तर, सुरुवाती अक्युपेन्सी मात्र पर्याप्त हुने छैन । आगामी दिनमा पनि दर्शकको उपस्थिति निरन्तर बढ्न सकेमा चलचित्रका शो थपिने सम्भावना रहन्छ । आज र शुक्रबारका शोमा दर्शकको उपस्थिति राम्रो भए शनिबारदेखि ‘बाटुलो जून’का शो बढ्न सक्नेछन् । अन्यथा, बलिउड चलचित्रको दबदबाका कारण यसले पनि अपेक्षित प्रदर्शन गर्न नसक्ने जोखिम रहन्छ ।

भुवन केसीले आफ्नो चर्चित चलचित्र ‘कुसुमे रुमाल’को स्वाद र भावभूमिलाई ‘बाटुलो जून’मार्फत नयाँ पुस्ताका दर्शकमाझ प्रस्तुत गर्न खोजेका छन् । ४० को दशकको परिवेश र कथालाई छोरा अनमोल केसीमार्फत पर्दामा उतार्ने प्रयास उनले गरेका छन् । चलचित्रमा अनमोलको जोडीका रूपमा प्रिन्सी खतिवडा र भुवन केसीको जोडीका रूपमा गरिमा शर्मा रहेकी छन् ।

चलचित्रमा न्यान्सी खड्का, प्रकाश घिमिरे, रियर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, लक्ष्मीनाथ तिमिल्सिना, अमितेश शाह, शिशिर सिवाकोटी, हिना नगरकोटी र संगी अधिकारीलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको लेखन सामिप्यराज तिमल्सेना र सरिन पोखरेलले गरेका हुन् ।