भीमफेदी दुर्घटनाका  मृतकको शव आफन्तले बुझे , १३ जनाको सुन्दरपुर सामूहिक अन्त्येष्टि गरिने


ब्युटी न्युज नेपाल
काठमाडौँ, २७ कात्तिक

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको भयावह विद्युतीय माइक्रोबस दुर्घटनामा ज्यान गुमाएका १४ जनाकै पहिचान खुलेको छ। दुर्घटनामा एउटै गाउँका १३ जनासहित चालकको मृत्यु भएपछि शोकमा डुबेको सर्लाहीको चक्रघट्टा गाउँपालिकामा मृतकहरूको अन्त्येष्टिको तयारी गरिएको छ।

हेटौँडा अस्पतालमा पोस्टमार्टमलगायत आवश्यक प्रक्रिया पूरा गरेपछि मृतकका आफन्तले शव बुझेर सर्लाही लगेका छन्। शवहरू तीनवटा शववाहनमा राखेर सर्लाही पठाइएको अस्पतालले जनाएको छ।

दुर्घटनामा मृत्यु हुनेमध्ये १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका स्थानीय हुन् भने एक जना सर्लाहीकै कविलासी नगरपालिका–८ का माइक्रोबस चालक रहेका छन्। सुन्दरपुरका १३ जनाको एकै स्थानमा सामूहिक रूपमा अन्त्येष्टि गर्ने तयारी गरिएको छ। मृतकका आफन्त तथा परिवारजनले आ–आफ्नो धार्मिक परम्परा र रीतिरिवाजअनुसार अन्तिम संस्कारको तयारी गरेका छन्। सुन्दरपुरका १३ जनाको सामूहिक अन्त्येष्टि गर्ने तयारी गरिएको चक्रघट्टा गाउँपालिकाले जनाएको छ। मधेश प्रदेशसभा सदस्य तथा पूर्वअर्थमन्त्री सञ्जयकुमार यादवको नेतृत्वमा सर्लाहीबाट हेटौँडा पुगेको टोलीले शव व्यवस्थापन तथा अन्तिम संस्कारको तयारीमा समन्वय गरेको छ।

मृत्यु हुनेहरूमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका विकेश यादव (२६), पुनम यादव (३५), शिक्षा यादव (७), दीपिका यादव (५), अनुकुमारी यादव (१०), गुड्डु यादव (३५/३६), गायत्री देवी यादव (३०/३२), रामदुलार यादव (२५/२६), सुबोध यादव (२४/२५), रोहन यादव (१५), राकेश यादव, छोटु भनिने रामप्रवेश यादव र सुदेश यादव रहेका छन्।

त्यस्तै, दुर्घटनामा सर्लाहीको कविलासी नगरपालिका–८ का ३० वर्षीय माइक्रोबस चालक रविशङ्करकुमार मण्डलको पनि मृत्यु भएको छ। यससँगै दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुगेको हो।

छठ पर्व मनाउन काठमाडौँबाट सर्लाही फर्कँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको विद्युतीय माइक्रोबस बिहीबार बिहान भीमफेदी–कुलेखानी सडकखण्डअन्तर्गत चिसापानीगढीमा सडकबाट करिब पाँच सय मिटर तल खसेर दुर्घटना भएको थियो। दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए।