पाँच दिनमै २३ लाख बढी दर्शकले हेरे ‘सिन्दुरे जात्रा’को ‘बाँसैको सुप्लाखे’


ब्युटी न्युज नेपाल
काठमाडौँ, २८ कात्तिक

नेपाली चलचित्र ‘सिन्दुरे जात्रा’ प्रदर्शनमा आउनुअघि नै यसको गीत ‘बाँसैको सुप्लाखे’ले दर्शकमाझ राम्रो चर्चा बटुलेको छ। सार्वजनिक भएको पाँच दिनमै युट्युबमा २३ लाखभन्दा बढी पटक हेरिएको यो गीतले चलचित्रप्रति दर्शकको आकर्षणसमेत बढाएको छ।

गीत सार्वजनिक भएपछि युट्युबमा दर्शकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्। गीतको शब्द, संगीत र भिडियोको प्रशंसा गर्दै दर्शकले चलचित्रको प्रतीक्षा गरिरहेको प्रतिक्रिया दिएका छन्। यता, सामाजिक सञ्जाल टिकटकमा पनि गीत लोकप्रिय बनेको छ। सार्वजनिक भएको छोटो समयमै २० हजारभन्दा बढी टिकटक भिडियोमा यो गीत प्रयोग भइसकेको छ।

प्रेममा रहेका युवा–युवतीबीचको आकर्षण, लाज, इसारा, विश्वास र मायालु भावनालाई समेटिएको गीतमा प्रशान्त शिवाकोटी र मेलिना राईको स्वर रहेको छ। सुरज गैरे ‘विवश’को शब्द तथा प्रशान्त शिवाकोटीकै संगीत रहेको गीतले प्रेमिल जोडीको मनोभावलाई सांगीतिक रूपमा प्रस्तुत गरेको छ। गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार विजय बराल र अञ्जना बराइली फिचर्ड छन्। भिडियोमा उनीहरूको नृत्य र प्रेमिल प्रस्तुतिलाई दर्शकले रुचाएका छन्। गीतले युट्युब र टिकटक दुवै माध्यममा पाएको प्रतिक्रियाले चलचित्रको प्रचारमा थप सहयोग पुग्ने निर्माण पक्षको अपेक्षा छ।

सरोज पौडेलको निर्देशनमा निर्माण भएको ‘सिन्दुरे जात्रा’मा पछिल्लो समय बक्स अफिसमा सफल जोडीका रूपमा स्थापित विजय बराल र अञ्जना बराइली मुख्य भूमिकामा छन्। यी दुई कलाकारको यो दोस्रो सहकार्य हो। यसअघि उनीहरूले नेपाली चलचित्र क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको ‘पूर्णबहादुरको सारङ्गी’मा सँगै अभिनय गरेका थिए।

चलचित्रमा विजय र अञ्जनासँगै विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोला राज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय रहेको छ। सविन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्रको कथा निर्देशक पौडेल स्वयंले तयार पारेका हुन्। सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता नेम महर्जन हुन्। सहनिर्मातामा राकेश खड्का र श्याम मगर रहेका छन् भने एसोसिएट निर्माता सुमन रञ्जित र लाइन निर्माता अनिश अधिकारी हुन्।

दिनेश खड्का कार्यकारी निर्माता रहेको चलचित्रको छायांकन पदमबहादुर श्रेष्ठ (बाबु)ले गरेका छन्। सम्पादन सुरेन्द्र पौडेलको रहेको छ भने विशाल घिमिरे क्रिएटिभ निर्देशकका रूपमा जोडिएका छन्। चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत रहेको छ। आगामी मंसिर १८ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुने ‘सिन्दुरे जात्रा’को वितरण जिम्मेवारी नेसनल सिने ग्रुप नेपालले लिएको छ। बिग मुभिज थिएटर पार्टनर र ओएसआर डिजिटल डिजिटल पार्टनरका रूपमा रहेका छन्।