सारथीको पोष्टरमा उत्तम र निरुताको बृद्ध रुप


ब्युटी न्युज नेपाल
काठमाडौँ, २७ कात्तिक

नेपाली चलचित्र ‘सारथी’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ। कुमार गजुरेलको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र आगामी मंसिर ११ गते (नोभेम्बर २७) देखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने भएको छ।

सारथीको पोष्टरमा उत्तम र निरुताको बृद्ध रुप प्रस्तुत गरिएको छ । चाहुरीएको अनुहारमा देखाइएकी निरुता सिंह र दाह्री फुलेको अबस्थामा प्रस्तुत उत्तम प्रधानलाई हत्तपत्त चिन्न सकिन्न । यस चलचित्रमा नेपाली चलचित्रका परिचित कलाकार निरुता सिंह र उत्तम प्रधानको  प्रमुख भूमिका रहेको छ। करिब दुई दशकपछि निरुता र उत्तमलाई एउटै पर्दामा देख्न पाउनु चलचित्रको अर्को विशेष आकर्षण बनेको छ।

पोस्टरमा म्याग्दीको गुर्जा क्षेत्रको मनोरम हिमाली दृश्य, प्राकृतिक सौन्दर्य र चलचित्रका मुख्य कलाकारलाई समेटिएको छ। चलचित्र ‘सारथी’मार्फत गिरि विश्वकर्मा र गायत्री जोशीले नायक तथा नायिकाका रूपमा नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्दैछन्। पोष्टरमा यी दुईलाई विशेष महत्व दिइएको छ ।

चलचित्रमा निरुता सिंह, उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरि विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, अनिता कुइँकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीलगायत कलाकारको अभिनय रहेको छ।

तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको चलचित्र किम्भे प्रोडक्सनको निर्माण तथा धिरज इन्फिनिटी फिल्म्सको सहकार्यमा तयार भएको हो। चलचित्रको छायांकन संकल्प भुजेलले गरेका छन् भने सम्पादन तारा थापा ‘किम्भे’ले गरेका छन्।चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत रहेको छ। गीतकार प्रशान्त शिवाकोटी हुन्। चलचित्रको लाइन प्रोड्युसर अमिर केसी हुन्। चलचित्रका निर्माता रदिप श्रेष्ठ र प्रदीप रायमाझी हुन्। कार्यकारी निर्मातामा बेकबहादुर विश्वकर्मा र नवीन श्रेष्ठ रहेका छन् भने सहनिर्मातामा अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा छन्।

त्यस्तै, चलचित्रको नृत्य निर्देशन कविराज गहतराजले गरेका छन् भने कला निर्देशन श्याम कार्कीको रहेको छ। चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ।