ब्युटी न्युज नेपाल
काठमाडौँ, २३ कात्तिक
नेपालीको दोस्रो ठूलो चाड शुभदीपावली अर्थात् तिहारको सांस्कृतिक रौनकलाई समेट्दै मौलिक भैली तथा देउसी परम्परामा आधारित गीत ‘तिहारै झिलिलि’ सार्वजनिक भएको छ। नेपाली मौलिक संस्कृति र चाडपर्वको परम्परालाई सांगीतिक माध्यमबाट नयाँ पुस्तामाझ पुर्याउने उद्देश्यले गीत तयार पारिएको हो।
हेमराज डाँगी र अञ्जु विश्वकर्माको स्वर रहेको गीतमा अनिल खनालको शब्द तथा हेमराज डाँगीकै संगीत रहेको छ। गीतको भिडियो निर्देशन दिनेश सिंह ठकुरीले गरेका हुन्।
तिहारमा घरघर पुगेर भैली खेल्ने, देउसी गाउने तथा सांस्कृतिक प्रस्तुतिमार्फत शुभकामना आदानप्रदान गर्ने नेपाली परम्परालाई गीतमा समेटिएको छ। आधुनिक संगीत र प्रस्तुतिको प्रभाव बढ्दै गइरहेको समयमा मौलिक चाडपर्व तथा संस्कृतिलाई केन्द्रमा राखेर तयार पारिएको यस गीतले तिहारको परम्परागत रौनक र उल्लासलाई स्मरण गराउने अपेक्षा गरिएको छ।
गीतको भिडियोमा लोकेश बीसी, प्रीति गुरुङ, अस्मिता बुढा मगर, पुष्प सेन्चुरी, आशिष ओली, बाद शाह, सुस्मिता खत्री, नारद बीसी, जुनु रिमाल र नगेन्द्र चौलागाईंसहितका कलाकारको नृत्य तथा अभिनय रहेको छ।
परम्परागत भैलीको वातावरण, चाडपर्वको उल्लास, नेपाली मौलिक पहिरन र सांस्कृतिक प्रस्तुतिलाई भिडियोमा विशेष प्राथमिकता दिइएको छ। सरोज ठकुरीले छायांकन गरेको भिडियोको सम्पादन राजेश कुमारले गरेका छन् भने सुवास गौतम सहायक निर्देशकका रूपमा रहेका छन्।
मौलिक नेपाली संस्कृति, परम्परा र चाडपर्वको महत्त्वलाई गीत–संगीतमार्फत नयाँ पुस्तासम्म पुर्याउने प्रयासका रूपमा ‘तिहारै झिलिलि’लाई हेरिएको छ।








