ब्युटी न्युज नेपाल
काठमाडौँ, २१ कात्तिक
नेपाली कला, साहित्य, गीतसंगीत, चलचित्र, पत्रकारिता तथा सामाजिक क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका स्रष्टा र साधकहरू एकै मञ्चमा सम्मानित भएका छन्। मिलाप मासिकले बिहीबार काठमाडौँमा आयोजना गरेको विशेष समारोहमा विभिन्न विधाका स्रष्टा तथा विशिष्ट व्यक्तित्वलाई सम्मान गर्नुका साथै महाकाव्यकार खेमनाथ दाहाललाई ‘टीका–गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार–२०८३’ प्रदान गरिएको छ।
बडादशैँ, तिहार, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदानसमेत गरिएको समारोहमा नेपाली कला क्षेत्रका विशिष्ट व्यक्तित्व त्रिदेवी चैतदेवी सिंह, वसुन्धरा भुसाल र भुवन चन्दको प्रमुख आतिथ्यता रहेको थियो।
समारोहमा मिलाप मासिकको आवरणमा समेटिएका व्यक्तित्वहरूलाई ‘मिलाप कभर सम्मान’ प्रदान गरिएको थियो। सम्मानित हुनेहरूमा उर्मिला श्रेष्ठ, विक्रमभक्त जोशी, राजु सिंह, खेमनाथ दाहाल, अम्बिका गुरुङ, उत्तम केसी, वसन्त वित्यासी थापा, देवेन्द्र बजगाईं, सुमिना श्रेष्ठ, निशिता जोशी, रश्मी पाण्डे, राज टाइगर, सुनिता कुँवर, मनोज परियार र सन्दीप भुजेल रहनुभएको थियो।
त्यसैगरी, कला, साहित्य, पत्रकारिता, सामाजिक सेवा तथा अन्य क्षेत्रमा योगदान पुर्याउने डा. मोहनलाल घिसिङ, सीताराम पोखरेल, आरपी पन्त, गोपालकाजी कायस्थ, विजयरत्न तुलाधर, विनोद देवकोटा, सरोज बास्तोला, मञ्जु लावती, शशी लुमुम्बू, राधाकुमारी दाहाल, योगराज पाण्डे ‘रञ्जन’, अशोक बराल, शान्ति गुरुङ, वसन्ती सदा शंकर, विन्दिरा श्रेष्ठ, स्वस्तिका पन्थी र सुमन सापकोटालगायतलाई ‘मिलाप सम्मान’ अर्पण गरिएको थियो।
सोही अवसरमा महाकाव्यकार खेमनाथ दाहाललाई ‘टीका–गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार–२०८३’ प्रदान गरिएको हो। गायक तथा संगीतकार कन्हैया सिंह र गायिका अञ्जना गुरुङले आफ्ना मातापिताको नाममा स्थापना गर्नुभएको उक्त पुरस्कार दाहाललाई प्रदान गरिएको थियो। चरित्र अभिनेत्री त्रय, मिलाप मासिकका सम्पादक एवं समारोहका सभापति कृष्ण भुसाल, ‘टीका–गोपाल’ फाउन्डेसनकी अध्यक्ष गीता सिंह तथा सल्लाहकार एवं संगीतकार सन्तोष श्रेष्ठलगायतले उहाँलाई पुरस्कार अर्पण गर्नुभएको थियो।
प्रमुख अतिथि वसुन्धरा भुसालले नेपाली कला क्षेत्रको विकास र संरक्षणमा स्रष्टाहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनीहरूको योगदानको कदर गर्ने यस्ता कार्यक्रम प्रशंसनीय रहेको बताउनुभयो। उहाँले विभिन्न विधामा सक्रिय प्रतिभालाई एउटै मञ्चमा जोड्ने यस्ता कार्यक्रमले आपसी सद्भाव र सहकार्यलाई समेत प्रोत्साहन गर्ने विश्वास व्यक्त गर्नुभयो।
पुरस्कार ग्रहणपछि खेमनाथ दाहालले आफूलाई राष्ट्रिय पुरस्कारबाट सम्मानित गरेकोमा आयोजकप्रति आभार व्यक्त गर्नुभयो। कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, चलचित्र विकास बोर्डका सदस्य गणेश सुवेदी तथा ‘टीका–गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार’का सल्लाहकार एवं कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले शुभकामना मन्तव्य राख्नुभएको थियो।
मिलाप मासिककी कार्यकारी सम्पादक गीता अधिकारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा निर्देशक माधवराज खरेलले सञ्चालन गर्नुभएको थियो। बालकलाकार काब्य अधिकारीले स्वागत नृत्य प्रस्तुत गर्नुभएको थियो।
समारोहमा वरिष्ठ साहित्यकार लेखनाथ पोखरेल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका महासचिव रमेश दाहाल, वरिष्ठ पत्रकार एवं गीतकार डब्बु क्षेत्री, सानुकाजी श्रेष्ठ, तुलसी गिरी ‘भावुक’, निमेश गौतम, साहित्यकार शैलेन्द्र चापागाईं, सविता बेहोसी, वरिष्ठ पत्रकार तथा गीतकार शान्तिप्रिय, वरिष्ठ कलाकार लय संग्रौला, नायिका तथा गायिका सारिका घिमिरे, निर्देशक रामशरण कोइराला र नायक श्रीदेव भट्टराईलगायत कला, साहित्य, पत्रकारिता तथा मनोरञ्जन क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो।
कार्यक्रमको समापन गर्दै सभापति एवं मिलाप मासिकका सम्पादक कृष्ण भुसालले स्रष्टा र साधकहरूको योगदानको सम्मान गर्नु नेपाली कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनको महत्त्वपूर्ण आधार भएको बताउनुभयो। उहाँले १७ वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको मिलाप मासिकले विभिन्न क्षेत्रका प्रतिभालाई प्रोत्साहन गर्दै एउटै मञ्चमा जोड्ने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।








