ब्युटी न्युज नेपाल
काठमाडौँ, १४ कात्तिक
काठमाडौँको मौलिक संस्कृति, सम्पदा र नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले आयोजित ‘काठमाडौँ फिल्म फेस्टिभल’ शुक्रबारदेखि सुरु भएको छ। काठमाडौँ महानगरपालिकाको आयोजनामा सुरु भएको महोत्सव कात्तिक १६ गते आइतबारसम्म सञ्चालन हुनेछ।
काठमाडौँको ऐतिहासिक इन्द्रचोकमा शुक्रबार साँझ आयोजित विशेष समारोहमा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा बलिउड अभिनेत्री शबाना आजमीले संयुक्त रूपमा महोत्सव उद्घाटन गरे। उद्घाटन समारोहमा अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रका विशिष्ट व्यक्तित्व तथा नेपाली चलचित्रकर्मीहरूको उल्लेख्य उपस्थिति थियो।
महोत्सवको उद्घाटन गर्दै काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बाल्यकालदेखि देखेको चलचित्रसम्बन्धी सपना यस महोत्सवमार्फत साकार भएको बताइन्। युनेस्कोको सिर्जनात्मक सहर चलचित्र (फिल्म सिटी) सञ्जालमा काठमाडौँ आबद्ध भएपछि दुई वर्षको तयारी गरेर महोत्सव आयोजना गरिएको उनले जानकारी दिइन्।

बलिउड अभिनेत्री शबाना आजमीले सांस्कृतिक सहर काठमाडौँमा यति भव्य चलचित्र महोत्सवमा सहभागी हुन पाउँदा खुसी लागेको बताइन्। महोत्सव आयोजना गरेकोमा सुनिता डंगोललाई धन्यवाद दिँदै उनले विगतमा पनि नेपाल आएको स्मरण गरिन्। यसपटकको नेपाल भ्रमण विशेष र रमाइलो भएको उनको भनाइ थियो।

वरिष्ठ कलाकार हरिवंश आचार्यले यो महोत्सव नेपाली चलचित्र उद्योगका लागि ऐतिहासिक उपलब्धि भएको बताए। महोत्सव आयोजना गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेकी सुनिता डंगोललाई उनले ‘हिरो’को संज्ञा दिए।

त्यस्तै, अर्का वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले अन्तर्राष्ट्रियस्तरको यस्तो महोत्सवले नेपाली चलचित्रकर्मीको प्रतिष्ठा बढाएको बताए। उनले चार दशकअघि शबाना आजमीकै हातबाट आफूले पहिलोपटक अवार्ड ग्रहण गरेको प्रसङ्गसमेत स्मरण गरे।
उद्घाटन समारोहमा काठमाडौँका विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएका थिए। महोत्सवमा चीन, जापान, भारतलगायत विभिन्न देशका चलचित्रकर्मी, विज्ञ तथा प्रतिनिधिहरू सहभागी छन्।

महोत्सवमा भारतीय अभिनेत्री शबाना आजमी, सांघाई फिल्म एकेडेमी तथा फिल्म आर्ट्स रिसर्च सेन्टरका विशिष्ट प्राध्यापक मार्को मुलर, जापानी चलचित्र निर्देशक ताकायुकी नाकामुरा र भारतीय फिल्म प्रोग्रामर दीप्ति डीकुन्हाको सहभागिता रहेको छ। उनीहरूले नेपाली चलचित्रकर्मी तथा सिर्जनात्मक क्षेत्रका व्यक्तित्वसँग अन्तरसंवाद, प्यानल छलफल र मास्टर क्लासमा अनुभव तथा ज्ञान आदानप्रदान गर्नेछन्।

महोत्सवको उद्देश्य काठमाडौँको प्राचीनता, मौलिकता, संस्कार, संस्कृति, परम्परा तथा मूर्त, अमूर्त र अभिलेखीय सम्पदाको प्रवर्द्धन गर्नु हो। पुरानो पुस्ताको ज्ञान र अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्नुका साथै काठमाडौँका विभिन्न समुदाय र बस्तीभित्र रहेका तर पर्याप्त रूपमा बाहिर आउन नसकेका कथालाई चलचित्रमार्फत उजागर गर्ने लक्ष्य पनि महोत्सवले लिएको छ।

महोत्सवअन्तर्गत शनिबार पर्यटन बोर्डमा शबाना आजमीले ‘चलचित्र, महोत्सव र सार्थक जीवन’ विषयमा अन्तरसंवाद गर्ने कार्यक्रम छ। सोही दिन दीप्ति डीकुन्हा सिर्जनात्मक सहरको प्रवर्द्धनमा चलचित्र र महोत्सवको भूमिकासम्बन्धी प्यानल छलफलमा सहभागी हुनेछिन्। जापानी निर्देशक नाकामुराले राष्ट्रिय सभागृहमा यामागाता युनेस्को फिल्म सिटीको परिचयात्मक प्रस्तुति दिनेछन्।
आइतबार पर्यटन बोर्डमा प्राध्यापक मार्को मुलरले ‘ग्लोबल साउथ र अन्तर्राष्ट्रिय महोत्सवका सन्दर्भमा चलचित्र सौन्दर्यशास्त्र’ विषयमा मास्टर क्लास सञ्चालन गर्नेछन्। त्यसपछि नेपाली चलचित्र उद्योगको विगत, वर्तमान र भविष्यबारे प्यानल छलफल आयोजना हुनेछ।
नेपाली चलचित्रको इतिहास संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘सिन्दुर’, ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिँदैछ। अन्तर्राष्ट्रिय पानोरामाअन्तर्गत विभिन्न देशका समकालीन, स्वतन्त्र तथा विशिष्ट सांस्कृतिक पहिचान बोकेका चलचित्र पनि समावेश छन्।

प्रदर्शन सूचीमा चिनियाँ चलचित्र ‘डियर यु’, भारतीय चलचित्र ‘बयान’, अस्ट्रेलियन चलचित्र ‘मिस एन प्लेस’, अस्ट्रेलिया–मंगोलियाली चलचित्र ‘स्टेयर्स’, कोरियाली चलचित्र ‘द किङ्स वार्डेन’, सिंगापुर–भारतीय चलचित्र ‘नट अ हिरो’ तथा फ्रान्सिस फोर्ड कोपोलाद्वारा निर्देशित अमेरिकी चलचित्र ‘द गडफादर’ रहेका छन्।
महोत्सवको समापनमा नेपाली, अमेरिकी, फ्रान्सेली र अस्ट्रेलियाली सहकार्यमा बनेको चलचित्र ‘प्राइभेट प्रपर्टी’ प्रदर्शन गरिनेछ। यसका साथै यामागाता युनेस्को क्रिएटिभ सिटी अफ फिल्मबाट आएको लघु चलचित्र ‘भ्यू पिपुल, भ्यू सिटिज’ पनि प्रदर्शन गरिने आयोजकले जनाएको छ। महोत्सवअन्तर्गत शनिबार र आइतबार राष्ट्रिय सभागृह तथा जय नेपाल सिनेमा हलमा चलचित्र प्रदर्शन, अन्तरसंवाद र विभिन्न सिर्जनात्मक कार्यक्रम सञ्चालन हुनेछन्।
तस्बिर बद्री थापा, ब्युटी न्युज नेपाल








