‘जलाकी’को ट्रेलरमा प्रेम, संस्कृति र भावनात्मक सम्बन्ध


ब्युटी न्युज नेपाल
काठमाडौँ, १४ कात्तिक

मगर तथा गुरुङ समुदायको संस्कृति, परम्परा र प्रेमकथालाई पर्दामा उतारिएको नेपाली चलचित्र ‘जलाकी’को ट्रेलर सार्वजनिक गरिएको छ। ‘खुस्मा’का निर्देशक अशोक थापा मगरको निर्देशनमा बनेको चलचित्रको ट्रेलर शुक्रबार ललितपुरस्थित लबिम मलमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो।

करिब कलेज जीवनबाट सुरु हुने प्रेमकथा र समयक्रमसँगै पात्रहरूको जीवनमा आउने परिवर्तन तथा भावनात्मक उतारचढावलाई ट्रेलरमा प्रस्तुत गरिएको छ। विशेषगरी अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता सोनाम तोप्देनबीचको प्रेमिल सम्बन्ध तथा अभिनयले दर्शकको ध्यान खिच्ने देखिन्छ।

चलचित्रको ट्रेलरमा प्रेम, विछोड, सम्झना र सामाजिक परिवेशलाई सांस्कृतिक पृष्ठभूमिसँग जोडेर देखाइएको छ। मगर समुदायको मौलिक पहिचान र परम्परालाई कथाको महत्वपूर्ण पक्ष बनाइएको यस चलचित्रका गीतहरूले यसअघि नै दर्शकमाझ चर्चा पाइसकेका छन्।

चलचित्रमा समावेश ‘कलेजीको छेऊ’, ‘चाँदी जलप’ र ‘जाले रुमाल मायालाई’ बोलका तीन गीत तथा टिजरलाई दर्शकले रुचाएका छन्। गीत र टिजरबाट प्राप्त प्रतिक्रियाले उत्साहित निर्माण टिमले ट्रेलरले पनि दर्शकको मन जित्ने विश्वास व्यक्त गरेको छ।

‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा लिइने ढुङ्गाले बनेको स्तम्भलाई जनाउने शब्द हो। निर्देशक अशोक थापा मगरका अनुसार यही सांस्कृतिक प्रतीकलाई आधार बनाएर मगर र गुरुङ समुदायको संस्कृति, परम्परा र भावनात्मक सम्बन्धलाई चलचित्रमा समेटिएको छ।

चलचित्रमा उपासना सिंह ठकुरी, सोनाम तोप्देन, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्गी, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर र दुइसाङ थिनलगायतको अभिनय रहेको छ। त्यस्तै, विशेष भूमिकामा क्याप्टेन विजय लामा देखिएका छन्। बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनाहा मगर छन्। यसै चलचित्रमार्फत मिस सिक्किम साहारा हाङमा लिम्बूले नेपाली चलचित्रमा अभिनय यात्रा सुरु गरेकी छन्।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका निर्मातामा ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाहा मगर र सुस्मिता बुढाथोकी रहेका छन्। चलचित्रको वितरण गोविन्द शाहीको काफिया फिल्मस् र कुबेर सिने डिष्ट्रिब्युसनले गर्नेछन्।