फ्रान्सको ‘वर्ल्ड फिल्म फेस्टिभल इन क्यान्स’मा ‘गौँथली’लाई उत्कृष्ट विदेशी चलचित्रको अवार्ड


ब्युटी न्युज नेपाल
काठमाडौँ, ११ कात्तिक

नेपाली चलचित्र ‘गौँथली’ले फ्रान्समा आयोजना हुने ‘वर्ल्ड फिल्म फेस्टिभल इन क्यान्स’मा ‘बेस्ट फरेन सिनेमा’ अर्थात् उत्कृष्ट विदेशी चलचित्रको अवार्ड जितेको छ। नेपाली कथावस्तु र भावनालाई पर्दामा उतारेको चलचित्रले अन्तर्राष्ट्रिय मञ्चमा अवार्ड जितेपछि यसको निर्माण टिमले खुसी व्यक्त गरेको छ।

‘वर्ल्ड फिल्म फेस्टिभल इन क्यान्स’लाई ‘रिमेम्बर द फ्युचर’ नामले समेत चिनिन्छ। फ्रान्सको क्यान्समा आयोजना हुने यस फेस्टिभलमा चलचित्रहरू मासिक रूपमा अनलाइनमार्फत प्रस्तुत गर्न सकिने व्यवस्था छ। त्यस्तै, मासिक तथा वार्षिक रूपमा भौतिक प्रदर्शन, रेड कार्पेट र अवार्ड समारोहसमेत आयोजना गरिने जनाइएको छ।

चलचित्रका निर्देशक डा. कपिल रिजालले ‘गौँथली’ले प्राप्त गरेको सफलतालाई आफ्नो चलचित्रको अन्तर्राष्ट्रिय यात्राका रूपमा व्याख्या गरेका छन्। २५ वर्षअघि उनका पिता डा. भोला रिजालले निर्माण गरेको गीतिचलचित्र ‘गौँथली’को भाव र विरासतलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले नयाँ चलचित्र निर्माण गरिएको उनले बताएका छन्।

‘आज मन गर्वले भरिएको छ, अनि आँखामा खुसीका आँसु छन्,’ निर्देशक रिजालले भनेका छन्, ‘२५ वर्षअघि मेरा बुवा डा. भोला रिजालले निर्माण गर्नुभएको गीतिचलचित्र ‘गौँथली’को त्यही भाव, त्यही माया र त्यही विरासतलाई आत्मसात् गर्दै मैले नयाँ पुस्तासम्म नयाँ ढंगले पुर्‍याउने एउटा सानो प्रयास मात्र गरेको हुँ।’

चलचित्रले दर्शकबाट पाएको माया, साथ र सफलताले आफू भावुक बनेको उल्लेख गर्दै रिजालले यो उपलब्धि व्यक्तिगत सफलतामा मात्र सीमित नरहेको बताएका छन्। उनका अनुसार ‘गौँथली’ एउटा चलचित्र मात्र नभई भावना, सपना र नेपाली चलचित्रप्रतिको प्रेमसँग जोडिएको यात्रा हो। उनले यो उपलब्धिलाई सम्पूर्ण निर्माण टिमको सफलताका रूपमा लिएका छन्।

चलचित्रका निर्माता सुमन गिरीले पनि ‘गौँथली’ले अन्तर्राष्ट्रिय मञ्चमा अवार्ड जित्नुलाई नेपाली चलचित्र क्षेत्रकै लागि खुसीको क्षणका रूपमा चित्रण गरेका छन्।

‘तपाईंहरूको माया, साथ र आशीर्वादले आज हाम्रो ‘गौँथली’ कान्ससम्म पुगेर विजेता बन्न सफल भएको छ। हिजो एउटा सपना थियो, आज त्यो सपना गौरवपूर्ण इतिहास बनेको छ,’ गिरीले भनेका छन्। दर्शकको विश्वास र हौसलाले यो उपलब्धि सम्भव भएको उल्लेख गर्दै उनले यसलाई नेपाली चलचित्र र नेपाली माटोको जितका रूपमा व्याख्या गरेका छन्।

डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’ अहिले पनि नेपालका चलचित्र घरमा प्रदर्शनरत छ। चलचित्रले प्रदर्शनको सय दिन पूरा गरिसकेको छ। निर्माण पक्षले उपलब्ध गराएको विवरणअनुसार चलचित्रले नेपाली बजारमा २६ करोड रुपैयाँभन्दा बढी व्यापार गरेको छ। यससँगै ‘गौँथली’ नेपाली चलचित्र इतिहासमा सर्वाधिक व्यापार गर्ने चलचित्रमध्ये दोस्रो स्थानमा रहेको दाबी गरिएको छ।

चलचित्रमा अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन्। पुरानो ‘गौँथली’को भावनात्मक विरासतलाई नयाँ पुस्तासँग जोड्ने उद्देश्यसहित निर्माण गरिएको यस चलचित्रले स्वदेशी बजारमा व्यावसायिक सफलता हासिल गर्नुका साथै अन्तर्राष्ट्रिय अवार्डसमेत जितेको छ। ‘गौँथली’को पछिल्लो उपलब्धिले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने प्रयासमा थप उत्साह प्रदान गरेको निर्माण टिमको विश्वास छ।